काठमाडौं, ७ साउन २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्षाका कारण गुल्मीको सत्यवति गाउँपालिकामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरेर सोमबार राति सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा पहिरोले पुर्याएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।
कांग्रेसले पहिरोले पुरिएर बेपत्ता भएका नागरिकको तत्काल खोजी गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापनाको व्यवस्था गर्न माग गरेको छ । साथै, कांग्रेसले घाइतेहरुको उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
गुल्मीको सत्यवती गाउँपालिकाको वडा नं ४ का दुई स्थानमा सोमबार राति गएको पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको थियो भने पाँच जना बेपत्ता भएक छन् ।








































