- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अध्यक्ष शर्मासहित दसविरुद्ध मुद्दा दायर

July 4, 2019
656
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १९ असार २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी तथा सदस्यले लिखित परीक्षाको प्राप्ताङ्कलाई फेरबदल गरी उत्तीर्णलाई अनुत्तीर्ण गराएको खुलेको छ । 

सोही आधारमा आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मालगायत १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएका अन्यमा सेवा आयोग सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी, प्राध्यापकहरू टेकनाथ ढकाल, गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, तारा पौडेल, रामबहादुर पाण्डे रहेका छन् । 

- ADVERTISEMENT -

Advertisement

आयोगमा त्रिवि सेवा आयोगका पदाधिकारीले लिखित परीक्षामा अनियमितता गरी आफ्नो नातेदारलाई भर्ना गरेको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको थियो । 

त्रिवि सेवा आयोगले २०७३ साल फागुन २८ गते विज्ञापन प्रकाशित गरी १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदका लागि विज्ञापन गरी परीक्षा सञ्चालन गरेको थियो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छवटा पदको लिखित परीक्षा सञ्चालनका क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार उत्तीर्ण भएका सबैजसो परीक्षार्थीको उत्तरपुस्तिकामा अङ्क फेरबदल गरी सच्याइएको छ । 

- ADVERTISEMENT -

Advertisement

परीक्षकलाई दिइने नियुक्तिपत्रमा कुल प्राप्ताङ्क केरमेट नगरी उत्तरपुस्तिकामा लेख्नुपर्ने, केरमेट गर्नुपर्ने भएमा सुरु अङ्क बुझिने गरी एक पटक मात्र काटेर अक्षरमा समेत लेखेर दस्तखत गर्नुपर्ने प्रस्ट उल्लेख गरिएको हुन्छ । 

आयोगका अनुसार शाखा अधिकृतको २४ पदका लागि भएको लिखित परीक्षामा परीक्षार्थीमध्ये छ जनाको उत्तरपुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरी अङ्क थपिएको र घटाइएको छ । उत्तरपुस्तिकाको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अङ्क थपेर एक परीक्षार्थीलाई उत्तीर्ण गराइएको आयोगले जनाएको छ । 

उत्तीर्ण भएका परीक्षार्थीको प्रथम पत्रमा नौ र तृतीय पत्रमा १४ अङ्क घटाएर अनुत्तीर्ण गराइएको आयोगको अनुसन्धानबाट खुलेको हो । उक्त कार्यमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको संलग्नता देखिएको आयोगले जनाएको छ । 
त्रिवि सेवा आयोगले लेखा अधिकृतमा २४ पदका लागि भएको लिखित परीक्षामा समेत उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उक्त कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र सम्परीक्षक टेकनाथ ढकालको संलग्नता देखिएको आयोगले जनाएको छ । 

एक जना कानुनी सल्लाहकार पदका लागि भएको परीक्षामा समेत अनियमितता भएको आयोगले जनाएको छ । योग्यताक्रममा पाँचौँ स्थानमा रहेकालाई १५ अङ्क थपेर पहिलो स्थानमा र दोस्रो स्थानमा रहेकाको दुई अङ्क घटाएर योग्यताक्रमको चौथो स्थानमा पारिएको छ । उत्तरपुस्तिका सम्परीक्षक ताराप्रकाश पौडेलको संलग्नतामा अङ्क फेरबदल गरिएको आयोगको अनुसन्धानले खुलेको छ । 

त्यसैगरी मुख्य लेखा सहायक र मुख्य कार्यालय सहायक पदमा समेत अङ्क फेरबदल गरी अनियमितता गरिएको आयोगले जनाएको छ । कार्यालय सहायक पदका उम्मेदवारको उत्तरपुस्तिकामा पाँच पटकसम्म अङ्क सच्याएर अनुत्तीर्णलाई उत्तीर्ण गराएको पाइएको छ । आयोगका प्रवक्ता कोइरालाले उक्त पदमा ११ जनाको उत्तरपुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परिणाम फेरबदल गरिएको बताउनुभयो । 

त्रिवि सेवा आयोगको आन्तरिक कार्यविधिको दफा १९ ले रुजु गर्दा त्रुटि देखिएका उत्तरपुस्तिकासँगै ३३ प्रतिशतको सम्परीक्षण गराउनुपर्ने व्यवस्था गरेको छ । तर उक्त व्यवस्थाविपरीत केही उत्तरपुस्तिका मात्र सम्परीक्षण गराएको आयोगको छानबिनबाट खुलेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ३५ थान उत्तरपुस्तिकाको कोडिङ/डिकोडिङ, परीक्षण, सम्परीक्षण, रुजुलगायत नतिजा प्रकाशनमा थुप्रै अनियमितता भएकाले आयोगका पदाधिकारी, सेवा आयोगका कर्मचारी, परीक्षक, सम्परीक्षकहरूको संलग्नताको पुष्टि भएको छ । गोरखापत्र
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com