काठमाडौं, १४ असार २०७६ । मुलुकमा लोकतन्त्र स्थापना गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहेकाले लोकतन्त्रको पहरेदार बनेर यसको रक्षा गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।
‘पत्रकारलाई नै देशको विषयमा बढी जानकारी छ । के सही के गलत छुट्याएर खबरदारी गर्नुपर्छ’, उनले भने । अझै पनि मुलुकमा स्थायी शान्ती कायम नभएका कारण सबै सचेत रहनुपर्नेमा उनले जोड दिए ।
सत्य निरुपण र बेपत्ता आयोगलाई सक्रिय बनाई राष्ट्रियस्तरबाटै समस्याको हल खोजिनुपर्ने पूर्वराष्ट्रपति यादवले बताए ।
‘संविधानमार्फत सबै भाषाभाषी र क्षेत्रका अधिकार सुनिश्चित गरिएको छ । अब देखिएका समस्या संसद्मा छलफल गरेर संवैधानिक प्रक्रियाबाट हल गर्नुपर्छ’, उनले भने ।
‘पहाड र मधेशलाई जोड्ने गरी काम गर्नुपर्छ । यहाँ कसैले शोषण गरेको छैन । राजनीतिक शोषण भएको हो’, उनले भने, ‘संविधान निर्माणसँगै अहिले मुलुकमा परिवर्तन आएको छ ।’ पूर्वराष्ट्रपति यादवले पहाड र तराईमा ताल तलैया धेरै भएकाले यसको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
पर्यावरणको उचित संरक्षण नभए भविष्यमा सङ्कट उत्पन्न हुने भएकाले समयमै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
पाल्पामा आयोजना गरिएको दलित पत्रकारको भेलामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पूर्वराष्ट्रपति यादव आज रुपन्देही आएका हुन् ।








































