एजेन्सी, १२ असार २०७६ । उत्तर कोरियाली प्रमुख किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तेस्रो सम्मेलन हुने सम्भावना बुधबार पुनः उत्पन्न भएको छ ।

प्योङयोङले अमेरिकाको व्यवहार अत्यन्तै आक्रामक भएको आरोप लगाइरहेपनि तेस्रो सम्मेलनको आशा गर्न सकिने संचार माध्यम सीएनएनले जनाएको छ ।

यसअघि उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकी मन्त्री माइक पोम्पेओको नाम उल्लेख गर्दै आफ्नो देशलाई घुँडा टेकाउन अमेरिकाले  आक्रामक शैली अपनाइरहेको भनि कडा शब्दमा आलोचना गरेको थियो ।  तर सो भनाइको केही घण्टापछि नै दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले दुवै प्रमुखहरुबीच पर्दा पछाडि लगातार वार्ता भइरहेको र तेस्रो सम्मेलन सम्बन्धी पनि गम्भीर छलफल जारी रहेको जनाएका हुन् ।

हालको अवस्था अनुकूल नदेखिएपनि कोरियाली प्रायद्विपको शान्ति प्रक्रिया सुस्त गतिमा लगातार अघि बढिरहेको मुनले मिडियासँग दाबी गरेका हुन् । उनले भनेका छन्, “पूर्ण निशस्त्रीकरण र स्थायी शान्ति जस्ता विषय एकै रातमा समाधान हुने कुरा होइनन् ।”

यता अन्तर्राष्ट्रिय मिडियामा भने अमेरिका र उत्तर कोरियाबीचको छलफल हनोइ सम्मेलनपछि अवरुद्ध भएको खबर आइरहेको छ । तर केही समय अगाडि ट्रम्प र किमबीच भएको चिठी आदानप्रदानले वार्ता जारी रहने आशा दिलाएको छ । यसरी मुनसँग भेटवार्ता गर्न जानु अगाडि ट्रम्प आगामी शुक्रबार जी–२० सम्मेलनका लागि जापान जाँदैछन् । यसबीच ट्रम्पले ‘डीएमजी जोन’ अर्थात उत्तर र दक्षिण कोरियाको शान्तिपूर्ण सिमाना क्षेत्र पनि भ्रमण गर्ने विचार गरिरहेको दक्षिण कोरियाका एक सरकारी अधिकारीले बताएका हुन् ।

यसरी ट्रम्प र किमबीच दुईपटकको प्रत्यक्ष भेटवार्तापछि उत्तर कोरियाले ट्रम्पलाई महान् लिडरका रुपमा व्याख्या गर्दै आइरहेको छ र उनीमाथि कुनै दोष आरोप लगाएको छैन । केही समय अगाडि मात्र किमले ट्रम्पबाट अति उत्तम व्यक्तिगत पत्र प्राप्त गरेको उल्लेख गरेका थिए भने यता ट्रम्पले पनि किमको पत्र एकदम सुन्दर भनि व्याख्या गरेका हुन् ।

यस्तोमा दुवै प्रमुखबीच तेस्रो सम्मेलनको सम्भावना पुनः जाग्रित हुन पुगेको बताइएको छ । तर अर्कोतर्फ उत्तर कोरियाली मिडिया अमेरिकी राज्य सचिव पोम्पेओ प्रति भने अत्यन्तै रुष्ट देखिएको छ । पोम्पेओले उत्तर कोरियाको ८०% अर्थतन्त्र प्रतिबन्धको नियन्त्रणमा रहेको बताएपछि प्योङयोङ आक्रोशमा आएको हो ।

यसको प्रतिक्रियामा उत्तर कोरियाको विदेश मन्त्रालयले यस्तो बयान जारी गरेको छ, “हामी अमेरिकी प्रतिबन्धको दबाबमा आएर घुँडा टेक्ने देश होइनौँ, न हामी अमेरिकाले जहिले चाह्यो हमला गर्न सक्ने कमजोर राष्ट्र हौँ । त्यसैले हाम्रो सार्वभौमिकता वा अस्तित्वमा थोरै पनि प्रभाव पर्न गए हामी अवस्य आफ्नो प्रतिरक्षामा हमला गर्न हिचकिचाउने छैनौँ ।”

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्