काठमाडौं, ६ असार २०७६ । ‘काफल पाक्यो, काफल पाक्यो…’ भन्दै सुरिलो ध्वनि प्रवाहित गर्ने कोइली चरी वसन्त ऋतुमा नेपाल भित्रिने पाहुना चरा हो। काफल पाकेको बताउने मात्रै होइन, ‘कोहो कोहो’ भन्ने अर्को प्रजाति पनि चैत–वैशाखको शुरुआतमै नेपाल भित्रिन्छ।
करिब ६ महिना यतै विचरण गर्छन्, अन्डा कोरल्छन्, बच्चा हुर्काउँछन् र आफ्नै स्थायी बासस्थान फर्कन्छन्। तर पछिल्ला वर्षमा कोइलीसहित वसन्त ऋतुमा नेपाल भित्रिने अन्य पाहुना चराको संख्या पातलिन थालेको छ। गर्मीयाममा तराई, मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकाजस्ता भू–भागमा बाक्लै देखिने र बाक्लै सुनिने कोइलीको आवाज अहिले धेरै घटेको पन्छीविद् डा। हेमसागर बराल बताउनुहुन्छ।
जलवायु परिवर्तनको असर, खेतबारीमा बढ्दो विषादीको प्रयोग, पन्छीका बासस्थान आसपासमा भइरहेको पूर्वाधार विकास अन्य मानवीय गतिविधिले कोइली र अन्य आगन्तुक पन्छी जोखिममा पर्न थालेको उहाँको भनाइ छ। झुसिल किरासहित धेरै प्रकृतिका किरा र फट्याङग्रा पन्छीका आहारा भएको बताउँदै बरालले भन्नुभयो– ‘खेतबारी, फलफूल र अन्य अनाजमा किरा फट्याङ्ग्रा धपाउन वा मार्न तीव्ररूपमा विषादी प्रयोग भइरहेकाले पन्छीको आहारा घटिरहेको छ।’
बरालका अनुसार विषादी मिश्रित आहाराका कारण आगन्तुक मात्रै होइन रैथाने पन्छीसमेत मासिने अवस्था बनेको छ, यस्तै कारणले पछिल्ला वर्षमा पन्छीको चहल–पहल घटिरहेको छ। कोइलीसहित करिब ५० प्रजाति पन्छी गर्मीयामको शुरुआतमा नेपाल भित्रिने उहाँले बताउनुभयो। अर्जुनक, मुरलीचरा, सुनचरी, पिट्टा, सानो खरमुजुर, स्वर्गचरीसहित कोइलीका धेरै प्रजाति नेपाल आउने गर्छन्। गर्मीयामका पाहुना चरा दक्षिण भारत, दक्षिण पूर्वी एसियाली मुलुक, अफ्रिकी महादेश र अस्टे«लियाबाट समेत नेपाल आउने गर्छन्।
पन्छीविद्का अनुसार अस्टे«लियाबाट करिब १० हजार किलोमिटर दूरी तय गर्दै सेतो कण्ठे गौंथली नेपाल आइपुग्छ भने अफ्रिकी महादेशबाट करिब ५ हजार किमि दूरी छिचोल्दै जुरे कोइली यतै आउने गर्छ। ग्रीष्मयाममा नेपाल आउने कोइलीका प्रजाति धेरै छन्। नेपालमा कोइलीका १९ प्रजाति अभिलेख भएका छन्। यीमध्ये १४ प्रजाति आगन्तुक हुन् भने पाँच प्रजाति रैथाने हुन्। कोइलीका १९ मध्ये १५ प्रजातिले अन्य पन्छीको गुणमा फूल पार्ने गर्छन्।
डा। बरालका अनुसार ‘काफल पाक्यो’ आवाज दिने कोइलीले चिबे चरा र ‘कोहो, कोहो’ आवाज दिने कालो कोइलीले कागको गुणमा फूल पार्ने गर्छन्। ‘कोइलीले झुक्याएर फूल पारे पनि चिबे र कागले आफ्नै सन्तानसरह कोइलीका बच्चाबच्ची हुर्काउँछन्।
उहाँ भन्नुहुन्छ– ‘यसरी हुर्किने बच्चा वयस्क हुँदै गर्दा माउकै बोली बोल्छन्, अनि कोइलीकै बथानमा मिसिन्छन्, यो अनुसन्धानको विषय हो।’ चिवे र कागले मानव बस्ती आसपासमा गुण लगाउने र विचरण गर्ने भएकाले विषादीको बढ्दो प्रयोगले यी पन्छीको प्रजनन प्रक्रियामासमेत खलल पुगेको विज्ञहरूको ठहर छ। चिवे र कागको प्रजनन र विचरण क्षेत्रमा खलल पुग्दा सोझै कोइलीका प्रजातिको संख्यामा पनि ह्रास आउने अर्का पन्छीविद् डीबी चौधरीको बुझाइ छ। ‘पन्छीको चहलपहल घट्दा समग्र पारिस्थितिक प्रणालीमा असर पुग्छ, केही गरी पन्छी भएनन् भने खेतबारीमा कीरा फट्याङ्ग्राको प्रकोप बढ्छ’ –उहाँले भन्नुभयो।
चौधरीका अनुसारअनुसार हालै नवलपरासीको कावासोतीमा रूप्पीको गुँडमा समेत कोइलीले फूल पारेको र रूप्पीले नै बच्चा हुर्काएको पाइएको छ। ‘यस्तो दृश्य पहिलोपटक कावासोतीमा देख्ने मौका मिल्यो, अन्यत्र पनि यस्ता घटना हुन सक्छन् भन्ने आधार देखियो। पन्छी एकआपसमा आश्रित भएको यो अर्को बलियो प्रमाण हो’ –उहाँले भन्नुभयो।
‘ग्रिष्मयाममा सेतो कण्ठे गौंथली सबैभन्दा टाढाबाट आउने पाहुना पन्छी हो। अस्टे«लियाको रैथाने सो पन्छी विचरणका लागि उत्तर एसियाली मुलुक पुग्ने गर्छ भने गन्तव्यमा पुग्न नेपाल र आसपासको बाटो रोज्ने गर्छ। हिउँदयामको शुरुआतमा फेरि नेपाल हुँदै आफ्नै थलो फर्कने यो गौंथलीले एकतर्फको यात्राका क्रममा निरन्तर करिब १० हजार किलोमिटर लामो दुरी पार गर्छ’ –पन्छीविद् बरालले जानकारी दिनुभयो।