रसुवा, ६ असार २०७६ । निर्माणधिन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा १७ मजदुर थुनिएका छन् । सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो जाँदा१७ जना कामदार भित्रै थुनिएका हुन् ।रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो ।
भित्रका मजदुर र बाहिर उद्धारकर्मीबीच रेडियो सेटबाट संवाद भइरहेको छ । सुरुङको मुख थुनिए पनि भित्र अक्सिजन पुगेको र आफूहरू सुरक्षित रहेको जानकारी उनीहरूले दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भयो ।
नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ । गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ ।
यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ । पहिरो गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएका छन् । ‘उद्धारका लागि पनि हामी तयारी अवस्थामा छौँ । नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम उद्धारका लागि खटिएको छ । तर, राति भएकाले अहिले नै उद्धार गर्न सकिएन । बिहान ६ बजेदेखि नै हामी खट्छौँ भण्डारीले – भने ।
माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले मजदुरहरूलाई तत्काल बाहिर निकाल्न नसकिएको आयोजना प्रमुख छवि गैरेले बताए । ‘मानवीय क्षति भएको छैन, कामदार सकुशल छन्, उनीहरूलाई बाहिर निकाल्न बिहान उज्यालो हुनासाथ उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइन्छ,’ गैरेले भने ।
चिलिमे जलविद्युत् आयोजनाको सहायक कम्पनीका रूपमा रसुवागढी जलविद्युत् आयोजना स्थापना भएको हो ।








































