वाशिङटन, ४ असार २०७६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपति पदको निर्वाचनको लागि आफ्नो दोस्रो कार्यकालको अभियान मंगलबार राति फ्लोरिडामा एक र्यालीको आयोजना गरी औपचारिक रुपमा शुरु गरेका छन् ।
उनले दोस्रो कार्यकालको अभियान अन्तर्गत आगामी साता अमेरिकामा रहेका अवैध आप्रवासीलाई हटाउने कार्यको पनि शुरुवात गर्ने जनाएका छन् । उनले दोस्रो कार्यकालको चुनावी अभियान हजारौं समर्थकहरुको बीचमा शुरु गरेका थिए ।
प्रारम्भिक रुपमा गरिएका सर्वेक्षणले ट्रम्पलाई डेमोक्रेटिक पार्टीका केही उमेदवारभन्दा थोरै पछाडि रहेको देखाएको छ । उनले मंगलबार अभियान सुरु गर्नुअघिको ट्विटमा कागजात नभएका आप्रवासीलाई उनीहरु जसरी आएका थिए त्यसैगरी फिर्ता पठाइने जनाएका थिए ।
अध्यागमन अधिकारीले भने आफूहरुलाई राष्ट्रपतिको योजनाबारेमा जानकारी नभएको जनाएका छन् ।
ट्रम्पको दोस्रो कार्यकालको अभियान शुरुवात कार्यक्रममा पत्नी मेलाइनिया, छोरा डन, उपराष्ट्रपति माइक पेन्स, उनकी पत्नी करेन लगायतको सहभागिता रहेको थियो ।
उनले सो अभियानका क्रममा सन् २०१६ मा डेमोक्रेटिक पार्टीका तर्फबाट प्रतिस्पर्धी हिलारी क्लिन्टनको आलोचना समेत गरेका थिए ।








































