काठमाडौँ, ४ असार २०७६  । युवा सरोकारका विषयलाई सशक्तरूपमा अगाडि बढाउन नमुना युवा संसद्को अभ्यासलाई देशव्यापी बनाउँदै लगिएको छ ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवाका क्षेत्रमा विनियोजन गरिएको बजेट, युवा लक्ष्यित कार्यक्रम, युवा नीति, युथ भिजन–२०२५ लगायतका युवासँग सम्बन्धित नीति तथा कार्यक्रमका बारेमा आम युवालाई सूचना प्रवाह गर्ने युवा संसद् अभ्यासको उद्देश्य भएको स्पष्ट पार्नुभयो ।

स्थानीय तहदेखि युवा सरोकारका विषयको उठान, छलफल र बहस गर्दै युवामैत्री नीति निर्माणमा तीन तहका सरकारलाई जिम्मेवार बनाउन पनि युवा संसद्को अभ्यासलाई महìव दिइएको हो ।  गत वर्षदेखि सरकारी कार्यक्रमकै रूपमा राष्ट्रिय युवा परिषद्मार्फत् नमुना युवा संसद्को अभ्यास सुरु गरिएको हो ।

युवा संसद्मार्फत १६ देखि २४ वर्षका युवालाई कानुन, संविधान, राष्ट्रियता, सभ्यता, अनुशासन सिकाउने र स्वयंसेवी बनाउँदै सकारात्मक भाव जागृत गराउने र देशव्यापी रूपमा युवा दूतका रूपमा परिचालन गर्ने उद्देश्य राखिएको छ । यस्तो अभ्यासबाट युवाले लोकतन्त्र र शासन पद्धतिलाई व्यावहारिक रूपमा बुझ्न सक्नुका साथै उनीहरूको नेतृत्व विकासमा टेवा पुग्ने विश्वास आयोजकको छ ।

नमुना युवा संसद्को अभ्यासलाई स्थानीय तह र वडा युवा क्लबसम्म जोड्दै लगिएको छ । यस वर्ष भने त्यसको दायरा फराकिलो बनाउँदै सातवटै प्रदेश, ७७ जिल्लाका सदरमुकामको पालिकामा अभ्यास गराइसकिएको छ । सङ्घ नमुना युवा संसद्को अभ्यास भने असारको दोस्रो साता हुने परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो । स्थानीय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पूर्ण जिम्मेवारी दिएर अभ्यासको काम सम्पन्न गरिएको पनि उहाँले बताउनुभयो ।

अभ्यास गरिएका पालिका र प्रदेश सरकारबाट सिफारिश भएर आएका र अनलाइनबाट आवेदन दिएर छनोट भएकाहरूले सङ्घको युवा संसद्मा सहभागी हुन पाउनेछन् । युवा संसद्मा शिक्षा, स्वास्थ्य श्रम रोजगार, गृह, सामाजिक सुरक्षालगायतका युवा सरोकारका विषयमा छलफल र बहसबाट नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सञ्चालन गर्ने भनिएको युवा परिचालन वर्षको कार्यक्रम र युवा संसद्बीच समन्वय गरिने पनि उहाँले जानकारी दिनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धन, नेतृत्व विकास र सामाजिक आर्थिक विकासमा परिचालन गर्नका लागि आगामी आर्थिक वर्षमा युवा परिचालन वर्ष सञ्चालन गर्नेछ भनी नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षका रूपमा मनाइने बताइको छ । यो अभियानमार्फत लैङ्गिक, जातीय र छुवाछूत लगायत सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य गरिने जानकारी दिइएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाहरूबाट युवा परिचालनमार्फत मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता कार्य गरिनेछ भनी बजेटमा उल्लेख गरिएको छ । गोरखापत्र

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्