काठमाडौं, ३१ जेठ २०७६ । सरकारले गरेको सार्वजनिक यातायातको भाडा बढाउन गरेको निर्णय एकदिन पनि नटिक्दै फिर्ता गरिएको छ । यसको चौतर्फी आलोचना हुन थालेपछि बिहीबार दिउँसो गरिएको भाडादर बढाउने निर्णय बेलुका फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्राल अर्न्तगतको यातायात व्यवस्था विभागले गरेका तीन वटा निर्णय फिर्ता भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयहरुमा थप अनुसन्धान गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यक्ता महसुस भएकोले निर्णय फिर्ता लिने निर्णय गरेको जनाइएको छ ।
यसअघि गरेका असार एक गतेबाट सार्वजनिक यातायातको भाडा बढाउने, रात्रिकालिन सवारी सञ्चालन गर्ने र मालवाहक सवारीलाई दिउँसो समय रोक लगाउने तीन वटा फिर्ता लिएको विज्ञप्तीमा जनाइएको छ ।
बढ्यो गाडी भाडा, असार एक गतेदेखि लागु हुने
यसअघि विभागको बैठकले सार्वजनिक यातायातमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । त्यस्तै मिटरमा चल्ने ट्याक्सीका हकमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरिएको थियो । विभागमा हालै बसेको ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफलले यस्तो निर्णय गरेको विभागले जनाएको थियो ।
यस अघि सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीले माग गरेपछि विभागले ०७५ असोज ७ गते लामो दुरीको सार्वजनिक यातायातको १० प्रतिशत भाडा बढाएको थियो ।