चितवन, २८ जेठ २०७६ । चैत महिना भित्र आफ्नै औषधालय सञ्चालनमा ल्याउने गरी तयारी गरेको भरतपुरको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले अझै पनि सञ्चालनमा ल्याउन सकेको छैन ।
औषधालय सञ्चालनका लागि गत कात्तिकमा १० जना कर्मचारी नियुक्त भएका थिए । तर, पनि अहिले सम्म औषधालय सञ्चालनमा आउन नसक्दा बिरामीहरु समस्यामा परेका छन् । अस्पतालले औषधालय सञ्चालनका लागि दुई जना अधिकृत स्तरका कर्मचारी नियुक्त गरेको छ ।
विद्युतीय माध्यमबाट भुक्तानि सेवा, औषधिको खरिद प्रकृयाका कारण समयमा औषधालय सञ्चालनमा ल्याउन नसकिएको क्यान्सर अस्पताल भरतपुरले जानकारी दिएको छ ।
राष्ट्रिय निती तथा अस्पताल फार्मेसी निर्देशिका २०७० अनुसार प्रत्येक अस्पतालले अनिर्वाय रुपमा आफ्नै औषधालय सञ्चलन गर्नुपर्ने व्यवस्था भए पनि क्यान्सर अस्पतालको अहिले सम्म आफ्नै औषाधालय छैन । अस्पतालहरुमा बाहिरी व्यापारिक फार्मेसीलाई भाडामा दिँदा सर्वसाधारणले महङ्गो मुल्यमा औषधीको किन्न परेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७० कात्तिक २५ गते प्रत्येक अस्पतालमा आफ्नै औषधालय हुनुपर्ने निर्णय गरेको थियो ।
फामेर्सिका लागि कात्तिक देखि नियुक्त भएका कर्मचारीले विद्युतिय माध्यमबाट भुक्तानि सेवा, औषधिको खरिद प्रकृया, अन्य औषाधालयको अवलोकन र औषधि बिक्रि गर्ने प्रकृयाबारे जानकारी अस्पतालले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले औषधालय सञ्चालन गर्न निर्देशन दिएपछि क्यान्सर अस्पताल भरतपुरले पनि औषधी खरिद गरेर फार्मेसी सञ्चालनमा ल्याउन लागेको थियो । औषधालय सञ्चालनका गर्नका लागि करिव १३ करोड हाराहारीका औषधि खरिद भैसकेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले एक हजार प्रकारका औषधी खरिद गरिएको छ ।
महँगो केमोबाट हाल बिरामी ठगिएको गुनासो आउने गरेका छन् । उहाँका अनुसार क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै औषधालयपछि सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने छन् ।चौबीसै घण्टा औषधालय सञ्चालन गरिने उहाँको भनाई छ ।
अस्पतालको आफ्नै फार्मेसी भएपछि ३० देखि ४० प्रतिशतसम्म सस्तोमा बिरामीले औषधि पाउने निर्देशक आचार्यले बताउनुभयो । अस्पतालमा हाल रहेको साझाको औषधालयले औषधि बिक्री गर्दै आएको छ । चैत्र पहिलो साता देखि सञ्चालन गर्ने तयारी गरेपनि प्रविधिक कारण ढिला हुन पुगेको उहाँले बताउनुभयो ।