इस्लामाबाद, २८ जेठ २०७६ । पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष आसिफ अली जर्दारीलाई सोमबार नेशनल अकाउन्टबिलिटी ब्यूरोको समूहले गिरफ्तार गरेको छ ।
न्यायाधीशहरु आमिर फारुक र मोहसिन अख्तर कियानीको संयुक्त इजलासले जमानतको निवेदन खारेज गरेर उनीहरुलाई पक्राउ आदेश दिएको हो । जरदारी र उनकी बहिनी मनि लाउण्डरिङ मुद्धामा मुख्य अभियुक्त हुन् ।
इस्लामाबाद हाइकोर्टले सोमबार मनि लाउण्डरिङको मुद्धामा जरदारी र उनकी बहिनी फरयाल तालपुरको अग्रिम जमानतको निवेदन खारेज गरेको बीबीसीले जनाएको छ ।
उनीहरुमाथि अवैध बैंक एकाउन्ट तथा विदेशमा रकम पठाएको आरोप रहेको छ । पूर्व राष्ट्रपति जरदारी गएको २८ मार्चदेखि अन्तरिम जमानतमा रहेका थिए । सो जमानत ५ पटक सम्म बढाइएको थियो । जरदारीलाई कडा सुरक्षा सहित गिरफतार गरिएको छ । उनलाई बुलेटप्रुफ गाडीमा रावलपिण्डीस्थित नेशनल अकाउन्टबिलिटी ब्युरोमा लगिएको थियो ।
अनुमतिका लागि जरदारीलाई आज मंगलबार अदालत समक्ष पेश गरिने जनाइएको छ ।उनकी बहिनी फरयाल तालपुरलाई भने पक्राउ गरिएको छैन ।पाकिस्तानका मिडिया रिपोर्टका अनुसार शुरुमा जरदारीको घरमा ब्युरोको टोलीलाई आउन नदिइएकोमा सोमबार गिरफतारी अघि सो टोलीले पाकिस्तानको नेशनल एसेम्बलीको अनुमति लिनुपरेको थियो ।
अदालतको फैसला आउनुभन्दा अघि जरदारी र उनकी बहिनी बाहिर निस्किएका थिए । जरदारीले हाइ कोर्टको फैसलाका विरुद्ध सुप्रिम कोर्टमा पुनरावेदन गर्न सक्नेछन् ।जरदारी र उनकी बहिनीलाई नक्कली बैंक एकाउन्ट मार्फत् ४ दशमलब ४ अर्ब रुपैयाँ देश बाहिर पठाएको आरोप लागेको छ ।
जरदारीका छोरा बिलावल भुट्टोले आफ्ना बाबुको गिरफतारीलाई लिएर शान्त रहन कार्यकर्तालाई आग्रह गरेका छन् ।यद्यपि विभिन्न शहरहरुमा विरोध प्रदर्शन गरिएका छन् ।कराँचीमा प्रेस क्लबको बाहिर ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।








































