काठमाडौं, २०७६ साल जेठ २७ गते सोमबार । विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दुईदिने दक्षिण एसियाली सम्मेलन आज सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । सोमबार र मंगलबार हुने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एन्ड लोकल गभर्मेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।

काठमाडौंमा आजबाट सुरु हुने सम्मेलनमा पर्यवेक्षकका रूपमा चिनियाँ प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरूको सहभागितामा सम्मेलन सुरु हुन लागेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद्, पुनर्निर्माणलगायतका विषयमा तुलनात्मक रूपमा अनुभव आदानप्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि र त्यसको दिगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ । यस्तै, विज्ञहरूका साथै गाउँपालिका र नगरपालिका प्रमुखहरूको पनि प्रस्तुति रहने कार्यक्रम रहेको छ ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत विमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनर्निर्माणले फड्को मारेको र नेपालले प्राप्त गरेको उपलब्धिहरू तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले समेत सिक्न सकून् भनेर सम्मेलनको आयोजना गरेको बताउनु भयो ।

सम्मेलनले विपद् जोखिमका क्षेत्रमा स्थानीय तह र सरकारले गर्नुपर्ने कामका विषयमा छलफल गरी काठमाडौं घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा सहभागी विज्ञले जलवायु परिवर्तनका कारण असर पर्ने र त्यसले ल्याउन सक्ने जोखिमको विषयमा छुट्टै प्रतिवेदन बनाएर दक्षिण एसिया क्षेत्रका सरकारलाई बुझाउनेछ । विशेष गरी जलवायु परिवर्तनको जोखिमको हिसाबले विश्वमा नै चौथो स्थानमा रहेको नेपाल तथा नेपाली भूभागको संरक्षण तथा जोखिम न्यूनीकरणका लागि सम्मेलन फलदायी हुने विश्वास लिइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्