काठमाण्डौँ, १३ जेठ २०७६ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा आज आव्हान गरीएको बन्दको प्रभाव उपत्यकामा सामान्य देखिएको छ ।
नेकपाले सरकारतर्फबाट आफ्ना कार्यकर्ताको बिना कारण हत्या र धरपकड गरेको बिरोधमा संघर्षका कार्यक्रमसहित आज नेपाल बन्द गरेको जनाएको छ ।
बन्दको अघिल्लो दिन भएका बम बिस्फोटका कारण आम सर्वसाधरणमा त्रास पैदा भएपछि आज यसको प्रभाव पर्ने देखिएको छ । सोमबार उपत्यकामा विशेषगरि यातायात र शैक्षिक संस्थामा यसको खास प्रभाव पर्ने देखिएको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ ।
उपत्यकाभित्र चल्ने सवारी साधन पनि सडकमा फाटफुट मात्रै देखिएका छन् । बन्दको प्रभाव भने शिक्षण संस्थाहरुमा परेको छ । केही विद्यालयले विदा नै दिएका छन् । एकाविहानै चहलपहल हुने उपत्यकाको बजार पनि अहिलेसम्म शुन्य छ । तर सरकारले बन्दको अवज्ञा गर्न भनेको छ । उपत्यकाका मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन गरीएको छ ।






































