- ADVERTISEMENT -

स्थानीय समुदायको भूमिका विश्वका लागि अनुकरणीय : अधिकृत सुशील ज्ञवाली

May 22, 2019
834
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २०७६ साल जेठ ८ गते बुधबार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प पश्चात् नेपालको पुनर्निर्माणमा स्थानीय समुदायको भूमिका विश्वका लागि अनुकरणीय रहेको बताउनु भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित पुनर्निर्माण सम्बन्धी विश्व सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीय सरकारको संलग्नता र स्थानीय समुदायको सकृय सहभागिताले नेपालको पुनर्निर्माण द्रुत गतिमा अघि बढिरहेको, यस प्रकृयाले विपद व्यवस्थापन कार्यलाई दीगो बनाउन र उत्थानशिल समाज निर्माण गर्नमा ठूलो योगदान गर्ने बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रत्येक दुई वर्षमा आयोजना हुने उक्त सम्मेलनको नारा ‘‘उत्थानशिल पुनर्निर्माणका लागि समावेशिता’’ रहेको थियो । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ‘‘नेपालको पुनर्निर्माणः समावेशिता’’  सम्बन्धी कार्यपत्र पेश गर्नु भएको थियो भने विपद व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन गर्नु भएको थियो ।

सम्मेलनमा उहाँले नेपालको पुनर्निर्माण संघीय राज्य प्रणालीलाई अवलम्बन गर्दै स्थानीय सरकारको संलग्नता सहित अघि बढिरहेको बताउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले जोखिममा परेका परिवार तथा विपन्न वर्गका भूकम्प पीडितहरुका लागि निजी आवास पुनर्निर्माण गर्न विशेष प्राविधिक, आर्थिक एवं सामुदायिक सहयोगको व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउनका लागि सामाजिक समावेशितालाई आर्थिक, प्राविधिक, सांस्कृतिक, संस्थागत एव कानूनी आधारमा समेत हेरी अझ फराकिलो दृष्टिकोण राख्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

सम्मेलनका क्रममा नेपालले पछिल्लो समयमा पुनर्निर्माणमा गरेको प्रगति उत्साहजनक रहेको भनी अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्र संघकी उपमहासचिव एवं संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी प्रमुख ओसाका ओकाइले सन् २०१५ मा नेपालमा गएको भूकम्प र सो को कारण भएको क्षति पश्चात् नेपालले पुनर्निर्माणमा  क्रमशः राम्रो गरेको बताउनु भयो ।

संयुक्त राष्ट्रसंघका महासचिवका विपद व्यवस्थापन सम्बन्धी विशेष प्रतिनिधि एवं प्रमुख मामी मिजुरोरीले नेपालमा सामुदायिक परिचालनका माध्यमबाट भएको पुनर्निर्माण र निजी आवास पुनर्निर्माणका क्रममा  सात लाख भन्दा बढी घर परिवार बैंकीङ् प्रणालीमा आवद्ध हुनु अत्यन्त महत्वपूर्ण उपलब्धी भएको बताउनु भयो ।

सम्मेलनको आयोजना संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियन लगायतका अन्तराष्ट्रिय संस्था तथा स्वीट्जरल्याण्ड सरकार लगायतले गरेका थिए ।

उक्त सम्मेलनका अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंकका निर्देशक सामेह वाहबा एवं संयुक्त राष्ट्र संघकी उप-महासचिव आसाको ओकाइसँग छुट्टा छुट्टै भेट गर्नु भएको थियो ।

विश्व बैंकका निर्देशक वाहबाले नेपालले पुनर्निर्माण कार्यमा गरेको प्रगति अत्यन्त उत्साहजनक र प्रशंसनीय रहेको बताउँदै विश्व बैंकले आगामी दिनमा नेपाल सरकारलाई थप आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा छलफल अगाडि बढाइरहेको जानकारी दिनुभयो । विश्व बैंकले नेपाल सरकारलाई निजी आवास पुनर्निर्माणका लागि यसअघि ५० करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।

संयुक्त राष्ट्रसंघकी उपमहासचिव आसाको ओकाइले प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँगको भेटमा नेपालले पुनर्निर्माणका क्रममा प्राप्त गरेको अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई महत्वपूर्ण हुने बताउनुभयो । भेटका अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उप-महासचिवसँग नेपाल जस्ता अति कम विकसित मुलुकहरुका लागि ठूला विपद् पश्चातको पुनर्निर्माण र पुनस्र्थापना कार्यमा अन्तर्राष्ट्रिय समुदायले उपलब्ध गराउने  सहयोगमा वृद्धि गराउन संयुक्त राष्ट्रसंघले थप पहल गर्नुपर्ने बताउनु भएको थियो ।

सम्मेलनका क्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका एडिसनल सेक्रेटरी एवं गुजराज स्टेट डिजास्टर म्यानेजमेन्ट अथोरिटीका पूर्व डाइरेक्टर पीके मिश्रसँग भेट गर्नु भएको थियो । सोही अवसरमा भारत सरकारले पुनर्निर्माणका लागि उपलब्ध गराउने अनुदान तथा ऋण सहयोगका बारेमा छलफल भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसैगरी,  प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जाइकाका निर्देशकसँग भेट गरी पुननिर्माणमा भएको प्रगति र जापानको तर्फबाट भएको सहयोग बारे छलफल भएको थियो ।

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -