काठमाडौँ, २९ बैशाख २०७६ । नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ । तीन सातापछि उक्त नाका खोल्ने गरी तयारी भए पनि त्यो स्वाभाविक रूपमा सञ्चालन हुन भने थप तीन महिना लाग्नेछ ।
नेपालतर्फको सडक वर्षाअघि निर्माण नभए त्यो पनि सम्भव छैन । बाढी र पहिरोको चपेटामा परेको तातोपानी नाकालाई ०७२ को महाभूकम्पले ध्वस्त पारेको थियो । भूकम्पपछि उत्तरतर्फ सम्पर्क नै विच्छेद भएको छ ।
चार वर्षयतादेखि यो नाकाबाट कुनै कारोबार भएको छैन । त्यहाँबाट हुने आंशिक कार्य रसुवागढीबाट हुने भए पनि यहाँको सडक पनि जर्जर छ । त्यसैले रसुवागढीबाट तातोपानी नाकाबाट अझै सामान ढुवानी सहज छैन ।भूकम्पले तातोपानी नाकाका संरचना ध्वस्त भएदेखि नै नाका खुल्ने–नखुल्ने विषयमा बहस चलिरहेको छ ।
चिनियाँले भौगोलिक संरचना देखाउँदै त्यहाँबाट कारोबार गर्न नसकिने भने पनि नेपाली पक्षले राजनीतिक कारणबाट नाका खुल्न ढिलाइ भएको बुझाइ छ ।
तातोपानी नाकाबाट चीनविरोधी गतिविधि बढेको बुझाइ चिनियाँ पक्षमा परेपछि यो खुल्न समय लागेको हो । अहिले चीनबाट जुन मोडलमा नाका खोल्ने तयारी भइरहेको छ, त्यसबाट नाका राजनीतिक कारणले नै खुलाउन ढिलाइ भएको पुष्टि हुन्छ । अन्नपूर्णपोस्टमा चन्द्रशेखर अधिकारीले समाचार लेखेका छन् ।