बीबीसी, २८ बैशाख २०७६ । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिवार हङकङको संसदमा हात हालाहाल भएको छ ।
नेताहरू झगडा गर्दा केही सांसद घाइते भएको र एक सांसदलाई अस्पताल लग्नु परेको छ। प्रस्तावित कानुनका विरोधीहरू सो परिवर्तनले हङकङमा रहेको स्वतन्त्रतालाई खुम्च्याउने विश्वास गर्छन् ।
तर, अधिकारीहरु भने हत्यामा आरोपित एकजनालाई ताइवान पठाउन सो परिवर्तन गर्न खोजिएको बताउँछन्।एक जना चीन समर्थक सांसदले शनिवार ‘हङकङका लागि एउटा दु:खद दिन’ भएको बताए ।
हङकङमा स्वतन्त्रताको वकालत गर्ने सांसद जेम्स टोले अधिल्लो हप्ता विवादास्पद विधेयकमाथिको सत्रको अध्यक्षता गरेका थिए तर उनलाई नयाँ कानुनका समर्थकहरूले अध्यक्षबाट हटाए । शनिवार सांसदहरू पत्रकारहरूका बीच बोल्ने माइकमा अधिकार जमाउन, अमर्यादित शब्दहरू प्रयोग गर्न र टेबलमा चढ्न थालेपछि तनाव भएको हो ।
हङकङमा स्वतन्त्रताको वकालत गर्ने सांसद गेरी फ्यान ढलेपछि उनलाई अस्पताल पुर्याइयो भने एकजना चीन समर्थक सांसद पछि हातमा काम्रो बाँधेको अवस्थामा देखिएका थिए ।