काठमाडौं, २५ बैशाख २०७६ । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार आठ सय ४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीनमहिने कार्ययोजनाअन्तर्गत १४ हजार आठ सय ४३ मोटरसाइकल तथा स्कुटरचालकलाई प्रशिक्षण दिएको हो ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम गरिरहेको जानकारी दिए । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई नमुना राजधानीका रूपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीनमहिने कार्ययोजना बनाएर विभिन्न काम गर्दै आएको छ ।
महाशाखाले सुकेधारामा दुई, गौशालाचोकमा तीन, धुम्बाराहीमा एक, चप्पल कारखानामा एक, शंखपार्कमा एक, स्टार अस्पतालमा एक र धोबीघाटका दुई स्थानमा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टपलाइन निर्माण, चाबहिलदेखि सुकेधारासम्म र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जदेखि बालुवाटारसम्म सेन्टर लाइन निर्माण गरेको छ ।
यसैगरी, बालकुमारी पुल, गोपीकृष्ण पुल, नयाँ बसपार्क पुल, हनुमानस्थान पुलको करिडोर निर्माण, कोटेश्वरदेखि गौशाला, खानी विभागदेखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, रातोपुलदेखि गौशालाचोक, थापाथलीदेखि सोल्टीमोडलगायतका क्षेत्रको फुटपाथसमेत व्यवस्थापन गरेको छ ।
महाशाखाले उपत्यकामा सञ्चालित ८८३ सवारी साधनलाई प्रदूषण जाँचमा असफल भएको भन्दै कारबाहीसमेत गरेको छ । ट्राफिक प्रहरीले उपत्यकामा थोरै जनशक्ति भए पनि उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन विभिन्न निकायसँग सहकार्य गरेर काम गरिरहेको छ ।
साँघुरो बाटो र धेरै सवारीसाधन उपत्यकामा भित्रिँदा दिनानुदिन ट्राफिक चापसमेत हुने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर सञ्चालनमा रहेका ३२ लाख सवारीसाधनमध्ये काठमाडौं उपत्यकामा मात्र ११ लाखको हाराहारीमा रहेका छन् ।