काठमाडौँ, वैशाख २१ गते । हिजोआज ठमेल निकै फेरिएको छ । पर्यटकको चहलपहल हुने ठमेलको मुख्य क्षेत्रमा दिउँसो सवारी साधन चलाउन निषेध गरिएको छ ।

अचेल यहाँका साइनबोर्डहरू फेरिएका छन् । जानकार भन्छन् – ठमेल पुग्दा हिजोआज चीनको कुनै सानो सहर पुगे जस्तै हुन्छ ।
धेरैजसो पसल र घरमा नेपाली र अंग्रेजीभन्दा चिनियाँ भाषाका बोर्डहरू झुन्डिएका छन् । चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाली व्यवसायीहरूले आफ्नो पसल र व्यवसायको चिनारी चिनियाँ भाषामा दिने उपाय निकालेका छन् ।

त्यति मात्र होइन, ठमेलमा व्यवसाय गरेर बस्ने चिनियाँको सङ्ख्या पनि बढ्दै छ । यसरी चिनियाँभाषी पर्यटक र व्यवसायी बढेसँगै नेपालीमा चिनियाँ भाषामोह बढेको छ । ठमेलका होटल, रेस्टुराँ तथा पसलले चिनियाँ भाषा जानेका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिन थालेका छन् ।
चिनियाँ भाषा प्रयोगको बढ्दो क्रमसँगै चिनियाँ भाषा सिक्नेहरू पनि बढ्दै छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेको विश्वभाषा क्याम्पसमा पहिलेपहिले अंग्रेजी, फ्रेञ्च, स्पेनी जस्ता भाषा सिक्नेको बाहुल्य हुने गरेको थियो तर हिजोआज चिनियाँ भाषामा विद्यार्थीको ‘क्रेज’ बढेको छ ।

हाल विश्वभाषा क्याम्पसमा चार सय जना विद्यार्थीले चिनियाँ भाषा सिक्दैछन् । बोल्ने र लेख्ने दुवै सिकाउने पाठ्यक्रम नै लागू गरिएको छ । यस क्याम्पसमा २०२८ सालदेखि चिनियाँ भाषाको पढाइ हुँदै आएको छ । अहिले चार जना नेपाली र चार जना चिनियाँ भाषा शिक्षकले पढाइरहेका छन् । पहिलेभन्दा अहिले युवामा आकर्षण बढेको विश्वभाषा क्याम्पसका चिनियाँ भाषा शिक्षक हरिहर कार्की बताउनुहुन्छ ।

आफूले एक दशकअघि चिनियाँ सिक्दाताका अहिलेजस्तो चिनियाँ सिक्ने ‘क्रेज’ नरहेको उहाँ स्मरण गर्नुहुन्छ । ‘हामीले सिक्ने बेला यस्तो थिएन । अहिलेको चिनियाँ भाषा सिकाइ व्यापारसँग बढी जोडिएको छ ।’ भविष्यमा चिनियाँ पढ्नेको संख्या अझ बढ्ने उहाँको अनुमान छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा एक लाख ५३ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । सन् २०१७ मा यो संख्या एक लाख चार हजार मात्र थियो । पर्यटक आवागमन वृद्धिसँगै गाइडको माग पनि बढेको पर्यटन व्यवसायी बताउँछन् ।
टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का सदस्यमध्ये एक सय जना गाइड चिनियाँ भाषाका छन् । सदस्यता नलिएका चाइनिज गाइडको संख्या पनि चार सय जनाको हाराहारी रहेको टुर्गानका कार्यालय सचिव युवराज पण्डित बताउनुहुन्छ, । उहाँका अनुसार टुर तथा ट्राभल गाइडले पनि चिनियाँ भाषामा आफ्नो भविष्य देख्न थालेका छन् ।
भाषा सिक्नेमा पर्यटन क्षेत्रका नेपाली मात्र हैन विद्यार्थी, अन्वेषक, व्यवसायी, वकिल, पत्रकार, कूटनीतिज्ञ, सांस्कृतिक अध्येता लगायत पेसाकर्मी पनि छन् । रामेछापका मणिकलाल घिसिङ पेसाले सिभिल इन्जिनियर हुनुहुन्छ ।
उहाँले चिनियाँ भाषाको दुई वर्षे पाठ्यक्रम अध्ययन सकिसकेका छन् । भविष्यमा चीनको लगानीमा बन्ने परियोजनामा रोजगारीमा थप अवसर सिर्जना हुने अपेक्षा गरी उहाँले भाषा सिकेको बताउनुभयो ।
विश्वभाषा क्याम्पसमा चिनियाँ पढिरहनुभएका लक्ष्मीधर गौतम विज्ञान विषयमा उच्च शिक्षा अध्ययनरत हुनुहुन्छ । विश्वमा चिनियाँ भाषाको बढ्दो प्रभाव देखेर चिनियाँ सिक्न थालेको उहाँले बताउनुहुन्छ ।

अहिले विश्वभाषा क्याम्पसमा होइन, अन्य विभिन्न भाषा प्रशिक्षण केन्द्रहरूमा पनि चिनियाँ भाषाले लोभलाग्दो गरी विद्यार्थी पाएको छ । काठमाडौँ विश्वविद्यालयमा केही वर्षयता कन्फ्युसियस इन्स्टिच्युटले भाषाको प्रशिक्षण दिँदै आएको छ । नेपाल पर्यटन बोर्डमा चिनियाँ दूतावासले नेपालीलाई चिनियाँ भाषा प्रशिक्षण दिइरहेको छ ।
दुई सय पर्यटन व्यवसायीलाई चिनियाँ भाषा सिकाउने लक्ष्यअनुरुप यो कक्षा सञ्चालन भइरहेको बोर्डका अधिकृत सुशीलाकुमारी बरालले जानकारी दिनुभयो । होटल व्यवसायी, टुर गाइड, ट्राभल कम्पनी, पर्यटक प्रहरी लगायतले यो तालिम लिइरहेका छन् । यसका लागि चिनियाँ दूतावासले स्वयंसेवक भाषा प्रशिक्षक परिचालन गरिरहेको छ ।

न चीनले कोरियाले जस्तो कामदार लगिरहेको छ न त जापानलेझैँ विद्यार्थी ओसारिरहेको छ तर हिजोआज चिनियाँ सिक्ने लहर भने जापानी र कोरियनभन्दा कम छैन । यसले चीन–नेपाल सम्बन्धको भाषिक आयाम पनि निकै महत्वपूर्ण बन्दै गरेको संकेत गर्ने त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति कार्यक्रमका संयोजक प्रा. डा. खड्ग केसी बताउनुहुन्छ ।

विश्व राजनीति र अर्थतन्त्रमा चीनको उदयसँगै उसले आफ्नो भाषाको प्रभाव बढाउने जस्ता ‘सफ्ट पावर’ को प्रयोग गरिरहेको उहाँको ठम्याइ छ । उहाँ भन्नुहुन्छ, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ जस्ता मेगा परियोजनालाई सफल बनाउन सांस्कृतिक प्रभाव विश्वभरि फैलाउन खोजेको छ । यो विश्वव्यापी घटना हो ।’ भाषाको विस्तारसँगै अन्ततः चीनको नै हित हुने भएपनि अहिले रोजगारीको अवसर बढ्ने आशाका कारण युवामा चिनियाँ भाषा मोह बढेको उहाँ बताउनुहुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्