काठमाडौँ, वैशाख १७ गते । सरकारको नीति तथा कार्यक्रमसहित बजेट पेस हुने महत्वपूर्ण अधिवेशनका रूपमा सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारदेखि सुरु भएको छ । सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबारदेखि सुरु भएको हो । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर औपचारिक रुपमा अधिवेशनको बैठक सुरु गरिएको छ ।
चालु बजेट अधिवेशन सरकारको नीति तथा कार्यक्रम पेससहित, प्रिबजेट छलफल र वार्षिक बजेट पेस हुने हिसाबले महत्वपूर्ण मानिन्छ । यस्तै, अधिवेशनमा संविधान कार्यान्वयन तथा संविधान अनुकूल बनाउने तीन दर्जनभन्दा बढी विधेयक पेस हुनेछन् । अधिवेशन सुरु हुँदा विचाराधीनसहित २९ विधेयक छन् ।
राजनीतिक दलका शीर्ष नेताहरुले चालु अधिवेशनलाई प्रभावकारी बनाउन आग्रह समेत गर्नुभएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले अधिवेशनलाई प्रभावकारी बनाउन यसअघि नै दलहरुलाई आग्रह गरिसक्नु भएको छ ।
सोमबारको बैठकमा सभामुख महराले प्रतिनिधिसभा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डलका सदस्यको मनोनयन गर्नुभएको छ । अध्यक्षमण्डलमा दलीय प्रतिनिधित्वका आधारमा सदस्य सिफारिस गरिन्छ । हरेक अधिवेशनमा सदस्य हेरफेर हुने प्रचलन छ ।
वैशाख २० मा राष्ट्रपतिको सम्बोधन
यस्तै बैठकमा सभामुख महराले संविधानको धारा ९५(२) अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेबारे जानकारी दिनुभएको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्न राष्ट्रपतिले २० गते संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । वैशाख १९ मा राष्ट्रपति चीन भ्रमण सकेर स्वदेश फर्कने कार्यक्रम छ ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि सो कार्यक्रममा छलफल र संशोधनका लागि समेत समय दिइनेछ । यो पटक प्रिबजेटभन्दा पहिले नीति तथा कार्यक्रम पेस हुन लागेको हो । प्रिबजेट भने नीति तथा कार्यक्रम पेस भएपछि संसद्मा पेश हुनेछ । ३१ वैशाखभित्र प्रिबजेट छलफल समेत सक्नेगरी आन्तरिक कार्यतालिका तयार पारिएको छ ।
शोक प्रस्ताव पारित
यस्तै सङ्घीय संसद्का दुवै सदनको बैठकमा चार शोक प्रस्ताव पारित गरिएको छ । दुवै सदनले राष्ट्रिय सभाका पूर्वसदस्य भिक्षु अश्वघोषको निधनमा शोक प्रस्ताव पारित गरेका छन् । यस्तै, २०६४ का संविधानसभा सदस्य दिवाकर गोल्छा, गुल्मी ३ का २०४८ का प्रतिनिधिसभा सदस्य रुद्रमणि शर्माको निधनमा शोक प्रस्ताव पारित गरिएको हो ।
यस्तै, २०४८ तथा २०५६ मा रुपन्देही २ बाट निर्वाचित रामकृष्ण ताम्राकारको निधनमा पनि शोक प्रस्ताव पारित गरिएको छ । गोरखापत्र








































