श्रीलंका, बैशाख ९

श्रीलंकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटमा ५०० भन्दा बढी घाईते भएका छन्। घरमा प्रहरीले छापा मार्दा २४ जना पक्राउ परेका छन् भने कारवाहीका क्रममा तीन प्रहरी मारिएका छन् ।

पक्राउ गरिएका २४ जना मानिस धार्मिक अतिवादी भएको रक्षामन्त्री रुवान विजेवर्दनेले बताउनुभएको छ । घटनापछि श्रीलंका सरकारले तत्कालै लागू हुने गरी निषेधाज्ञा (कर्फ्यु) लगाएको मन्त्री विजेवर्दनेले बताउनुभयो ।

‘स्थिति सामान्य नहुन्जेलसम्म कर्फ्यु लगाइनेछ,’ कोलम्बोमा पत्रकारहरूलाई उहाँले जानकारी दिनुभयो । सरकारी अधिकारीहरूले फेसबूक र ह्वाट्सयाप लगायतका प्रमुख सामाजिक सञ्जाल र सन्देश पठाउने यापहरूलाई ब्लक गरिएको जनाएका छन् ।

गलत सूचना र हल्ला नफैलियोस् भनी यस्तो गरिएको बताइएको छ । घटनामा विदेशी नागरिकहरू पनि मारिएका छन् । भारत, अमेरिका, चीन, डेनमार्क, जापान, पाकिस्तान, बंगलादेश र मोरक्कोका नागरिक मारिएका हुन् ।

विस्फोटको पहिलो शृंखला ईस्टर सन्डेका दिन बिहान पौने ९ बजे भएको थियो । त्यतिखेर मानिसहरू प्रार्थनाका लागि भेला भएका थिए । आक्रमणको जिम्मा अझै पनि कसैले लिएको छैन ।३० विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको द वायरमा छ ।

सन् २००९ मा २६ वर्षे लामो गृहयुद्ध अन्त्यपछि श्रीलंकामा हिंसाका घटना छिटपुट मात्र हुने गरेका थिए। गत वर्ष भने बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा राष्ट्रिय संकटकाल घोषणा गरिएको थियो। श्रीलंकामा बहुसंख्यक सिंहाली समुदायको बसोबास छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्