काठमाडौं, चैत २५, २०७५ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउने गिरोह फेरि सल्बलाएको खुलासा गर्नुभएको छ । राम्रो काम गरेबापति आइलागेको आरोपको प्रतिवाद गर्न आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले लोडसेडिङ गराउने गिरोह निकै सल्बलाएर आफूबिरुद्ध लागेको खुलासा गर्नुभयो ।
आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको खुलासासमेत उहाँले गर्नुभयो । उहाँले प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको बताउनु भयो । ‘छलफलमै रहेका कतिपय कुरा पनि बंग्याएर दुष्प्रचार गर्ने क्रम बढेको छ, विगतका एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु,’ घिसिङले भन्नुभयो ।
विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउने गिरोहहरु सक्रिय भएको उहाँको भनाई थियो । ‘हिजोको जस्तै प्राधिकरणमा खेलो गर्न खोज्नेहरु सक्रिय छन्, हामीसँग हिजो कसरी लोडसेडिङ गराए भन्ने प्रमाण पनि छ,’ घिसिङले भन्नुभयो ।
उहाँले प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको बताउनु भयो । केही सञ्चार माध्यमले घिसिङले गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता समाचार प्रकाशित गरेका थिए । घिसिङले सो समाचार लोडसेडिङ गराउने गिरोहको प्रायोजनमा भएको चरित्र हत्याको संज्ञा दिनुभयो ।
‘मैले ६० लाख भत्ता बुझेको हैन, राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको हो,’ प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेका घिसिङले गलाअवरुद्ध पार्दै भन्नुभयो । वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उहाँले प्रष्ट पार्नुभयो ।
हिजोको जस्तै प्राधिकरणमा खेलो गर्न खोज्नेहरु सक्रिय छन्, हामीसँग हिजो कसरी लोडसेडिङ गराए भन्ने प्रमाण पनि छ
सरकारले प्रोत्साहन स्वरूप २४ लाख दिएको हो, त्यो बाहेक मैले करबाहेक ६ लाख भत्ता बुझेको रहेछु । गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छ,’ घिसिङको भनाई थियो ।