चितवन, चैत २४
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको ठोकुवा गर्नुभएको छ ।
चितवनमा आज आयोजित कार्यक्रममा मन्त्री ढकालले तीन सय ३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको प्रष्ट पार्नुभयो ।
‘जनतालाई अधिकारसम्पन्न बनाउने मौलिक हकमा रहेका कानून धेरै निर्माण भइसकेका छन, देवानी र फौजदारीसँग सम्बन्धित ऐन अघिल्लो वर्ष पास भएर यस वर्षबाट कार्यान्वयनमा आएको छ,’ मन्त्री ढकालले भन्नुभयो ।
संसद् गठन भएको एक वर्षभित्र संविधान र सङ्घीयता अनुकूल करीब दुई सय बढी कानून बनाउने काम सम्पन्न भएको जानकारी पनि मन्त्री ढकालले दिनुभयो । धेरै विषय सर्वभौम संसद्को समिति र संसदमा रहेको र छिटफुट विधेयक पनि अन्तिम तयारीमा रहेको उहाँको भनाई थियो । नयाँ अभ्यास भएकाले संविधान र सङ्घीयताअनुरुप बनाउनुपर्ने कानूनले प्राथमिकता पाउनु स्वाभाविक रहेको मन्त्री ढकालको भनाई छ ।
अन्तर प्रदेश परिषद् बैठकबाट कानून निर्माणको सन्दर्भमा कसरी जाने भन्ने विषयमा मूल खाका बनाइएको जानकारी पनि मन्त्री ढकालले दिनुभयो ।
प्रदेश लोकसेवा र भूउपयोग नीतिलगायत सम्बन्धित ऐन पास भइसकेको भन्दै उहाँले प्रदेश र स्थानीय तहमा ऐन कानून निर्माणका लागि केन्द्रका तर्फबाट मार्गप्रशस्त गरेको स्पष्ट पारे ।