बारा, चैत २१

हावाहुरी तथा आँधीबाट प्रभावित बारा र पर्सामा राहत लिन वास्तविक पीडितभन्दा पनि न्यून क्षति भएका पहुँचवाला र धनीमानीकै रजाइँ चलिरहेको पाइएको छ । पक्की घरका छतका रेलिङमा मात्रै क्षति पुगेको तर घरका सबै सामान सुरक्षित रहेका व्यक्तिहरूले नै वास्तविक पीडितको नाममा धमाधम राहत लिन थालेका हुन ।

आँधीबाट सवै गुमाएर खुला आकाशमुनि र टेन्टमा बसेका वास्तविक पीडितसमक्ष भने राहतका सामानको पहुँचै पुग्न सकेको छैन । हुरीबाट सबैभन्दा बढी क्षति पुगेको बाराको फेटा–६ करैनिया क्षेत्रमा टेन्ट र पालमुनि बसेका पीडितले आफूहरूले राहतको प्रभावकारी जोहो गर्न नसकेको बताएका छन् । सो वडामा मात्रै हुरीबाट ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते छन् ।

स्थानीय पीडितका अनुसार हुरीबाट क्षति पुगेका वास्तविक पीडितको स्पष्ट तथ्यांक लिने काम हुन सकेको छैन । वास्तविक पीडितको तथ्यांक संकलन हुन नसक्दा पीडितको नाममा अन्यले भकाभक राहत लिने गरेका हुन् । पक्की घरवालाले पीडितको नाममा राहत सामग्री बुझेर घरका कोठामा लगेर थुपारेको पाइएको छ ।

क्षति नभएका कैयौं परिवारका सदस्यहरू क्षतिग्रस्त घरमा बसेर सक्कली पीडितको नाममा नक्कली पीडित बन्दै राहत थाप्ने काम गरेकाले राहत व्यवस्थापनमा ठूलो समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ । घाइतेका आफन्त अस्पतालमा रहेका तथा मृतकका आफन्त शोक र अन्तिम संस्कारमा रहेको अवस्थामा उनीहरूको नाममा समेत नक्कली पीडित बनेर राहत लिनेको संख्या पनि धेरै रहेको बताइएको छ ।

गृह मन्त्रालयका अनुसार राहत वितरणमा स्थानीय सरकारसँग सहकार्य गरेर राहत बाँड्ने निर्णय गरेको भए पनि सहयोगी निकायले आफूखुसी राहत वितरण गर्दा समस्या भइरहेको छ । यसलाई नियन्त्रण गर्न नसक्दा वास्तविक पीडितभन्दा नक्कली पीडितले फाइदा उठाएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले जनाएका छन् ।

प्रभावित क्षेत्रमा राहत धेरै लिनेमा नाम मात्रका पीडित धेरै देखिएका छन् । यस्ता नक्कली पीडितले प्रतिव्यक्ति चार/पाँचवटासम्म त्रिपाल तथा उत्तिकै संख्यामा राहत सामग्री पीडितका नाममा लिएका छन् । पीडितलाई हालसम्म कति राहत वितरण गरियो भन्ने यथार्थ तथ्यांक गृहमन्त्रालय तथा स्थानीय सरकारसँग छैन ।

राहत वितरणमा स्थानीय सरकार र प्रदेश सरकारले समन्वय गर्न नसक्दा राहत वितरण नै अव्यवस्थित बनेको छ । यससँगै राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्