काठमाडौं, चैत १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार मुलुकका विभिन्न भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान गरेको छ ।
आइतवार बारा र पर्सामा गएको हावाहुरीको प्रक्षेपण गर्न नसकेको महाशाखाले बुधबारको मौषम भने प्रक्षेपण गरेको हो । यद्यपी महाशाखाले कति गतिको हुने भन्ने बारेमा खुलाउन सकेको छैन ।
प्रि मनसुनको समयमा मेघगर्जन र गड्याङगुडुङसहित चट्याङ र वर्षासँगै हावासमेत चल्ने भएकाले सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले मात्र हावाहुरी शब्द बुलेटिनमा समेट्न सुरु गरिएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् ।
महाशाखाले मङ्गलवार बेलुकी तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै बुधवार दिउँसो पूर्वी भूभागका थोरै स्थान, मध्य र पश्चिमका एक–दुई स्थानमा हावाहुरीसहित वर्षा हुने उल्लेख गरेको हो ।
यसअघि महाशाखाले आफ्नो बुलेटिनमा हावाहुरीबारे उल्लेख नै गर्थेन ।