काठमाडौँ, चैत १८ । कार्यालयको स्तरोन्नति भएको आठ महीना बित्दासमेत जनशक्ति कम हुँदा राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई हुन थालेको छ ।
गत साउनमा अभिलेखालयको विभागस्तरमा स्तरोन्नति भएको थियो । त्यसअघिसम्म पुरातत्व विभागअन्तर्गत अभिलेखालय थियो ।
साउनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सिधैं हेर्न थालेको हो ।अभिलेखालयको वेवसाइटमा भने अझै विभाग अन्तर्गत नै कार्यालय रहेको उल्लेख छ ।
विभाग अन्तर्गत हुँदा ३७ जनाको दरबन्दी रहेको अभिलेखालयमा स्तरोन्नति भएपछि भने २० मा झरेको छ ।
सङ्घीय संरचनामा गएका कारण कर्मचारीको दरबन्दी घट्दै गएको जानकारी पाइएको अभिलेख शाखा प्रमुख निरणकुमार राजवंशीले बताउनुभयो ।
राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतले नेतृत्व गर्नुपर्नेमा आठ महीनासम्म मन्त्रालयले सहसचिव समेत पठाउन सकेको छैन ।
मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सहसचिवस्तरको कर्मचारी अभाव रहेकाले अभिलेखालयमा कामुको जिम्मेवारी दिइएको बताउनुभयो ।
जनशक्ति अभाव भएको बारेमा अभिलेखालयबाट लिखित वा मौखिक जानकारी नआएको उहाँले बताउनुभयो ।
असारअघि विभागले अभिलेखालयलाई हेर्ने गरेकामा हाल सिधै मन्त्रालयले हेर्ने गरेको छ ।
लिपि बुझ्ने जनशक्ति नहुँदा पुराना कर्मचारीलाई बोलाएर तथा बाहिरबाट बोलाएर काम चलाउनु परेको अभिलेखालयका अभिलेख शाखा प्रमुख राजवंशीले बताउनुभयो ।
अभिलेखालयमा १२ हजार हस्तलिखित, पोकाको हस्तलिखित ठेली ३८ हजार, हालसम्म दुई लाख पानाको माइक्रोफिल्म गरिएका ऐतिहासिक अभिलेख छन् ।
यी अभिलेख अध्ययनका लागि दैनिक पाँच÷छ जना अध्ययन अनुसन्धानका लागि आउने गरेका छन् ।