काठमाडौं, २०७५ साल फागुन २७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताउनु भएको छ ।

राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले जनमत संग्रहका विषयमा कुनै निर्णय पनि नभएको स्पष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भएपनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्नुभएको छ । “पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ, त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो ”, “राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुंदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताउनुभएको छ । “नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन् ”, “राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।” उहाले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । “देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुदैनन् ”, “कोही मृत संस्था जिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ति दुवै कुराहरुलाई निस्तेज पारिन्छ । ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले खुलेर प्रशंसा गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्