काठमाडौं, २५ फागुन २०७५ । पोर्चुगिच स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै इटालियन फुटबल क्लब युभेन्टसले सिरी ए मा शानदार जित निकालेको छ । युभेन्टसले शुक्रबार राति उडिनेसलाई ४–१ ले पराजित गरेको थियो ।

युभेन्टसको जितमा टिनएज खेलाडी मोइस किनले दुई गोल गरे । खेलको ११ औं मिनेटमा एलेक्स स्यान्ड्रोको क्रसलाई गोलमा परिणत गर्दै किनले अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा उनले एकल प्रयासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । किनले नै ६६ औं मिनेटमा युभेन्टसको लागि पेनाल्टी प्राप्त गरे । उक्त पेनाल्टीलाई एमरे च्यानले गोलमा परिणत गर्दै जिततर्फ लम्काए ।

ब्लेस माटुइडीले ७१ औं मिनेटमा हेडरमार्फत गोल गरेपछि युभेन्टसको अपराजित यात्रा कायम रहने पक्का भएको थियो । उडीनेसका लागि खेलको ६ मिनेट समय बाँकी रहँदा केभीन लासाग्नाले सान्त्वना गोल गरे ।

रोनाल्डोले यस सिजन पहिलो पटक युभेन्टसको लागि विश्राम पाएका हुन् । सन् २०११ यता सबै लिग उपाधि जितेको युभेन्टसले अपराजित यात्रा कायम गर्दै लिगको शीर्ष स्थानमा १९ अंकको अग्रता लिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्