एजेन्सी, २४ फागुन २०७५ । भारतीय सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर र बाबरी मस्जिद विवाद समाधान गर्न मध्यस्थकर्ता नियुक्त गरेको छ । प्रधानन्यायाधीश रन्जन गोगोई नेतृत्वको ५ सदस्यीय इजलासले ३ सदस्यीय मध्यस्थता समिति बनाएको हो ।
सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश फकीर मोहम्मद इब्राहिम खलीफुल्ला नेतृत्वको मध्यस्थता समितिमा आध्यात्मिक गुरु रविशंकर र वरिष्ठ अधिवक्ता श्रीराम पन्चु छन् । उत्तर प्रदेशको अयोध्या विवादको मध्यस्थकर्ता नियुक्त गरिएका तीनैजना दक्षिण भारतीय हुन् ।
को–को हुन् मध्यस्थकर्ता ?
रविशंकरको जन्म तमिल अय्यर परिवारमा सन् १९५६ मा भएको थियो । ७ वर्षअघि पाकिस्तानको इस्लामावादमा आफ्नो आश्रम उद्घाटनमा जाँदा उनले तालिबान र अन्य चरमपन्थीसँग कुरा गर्न तयार रहेको बताएका थिए । उनले भनेका थिए, ‘पहिलेदेखि नै मेरो उद्देश्य कुनै न कुनै हिसाबले मानिसहरुबीचको दूरी कम गर्ने र शान्तिको नयाँ लहर आओस् भन्ने आफूले चाहेको बताएका थिए । उनले २०१७ मा एक अन्तर्वार्तामा अयोध्या विावद नसुल्झिए भारतमा सिरियाजस्तो अवस्था हुने बताएका थिए । बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले बाबरी मस्जिद र राम जन्मभूमिका विवादको समाधान अदालतभन्दा बाहिरै निकाल्नुपर्ने बताएका थिए । उनले मुसलमान समुदायले राम मन्दिरमा आफ्नो दाबी त्याग्नुपर्ने र उनीहरुलाई अयोध्यामा मस्जिद बनाउन ५ एकड जमीन दिनुपर्ने सुझाव दिएका थिए ।
यस्तै, ६८ वर्षीय पूर्व न्यायाधीश मोहम्मद इब्राहिम खलीफुल्ला श्रम कानुनसंग जोडिएको मुद्दामा सक्रिय छन् । उनी २००० मा मद्रास उच्च न्यायलयमा स्थायी जज, २०११ मा जम्मु कश्मीरको कार्यकारी मुख्य न्यायाधीश र २०१२ मा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।
वरिष्ठ वकिल श्रीराम पन्चु चर्चित मध्यस्थकर्ता नै हुन् । उनको संस्था दि मिडिएसन च्याम्बर्सले मध्यस्थकर्ता गर्छ । उनले २००५ मा अदालतसंग सम्बन्धित मध्यस्थता केन्द्र बनाएका थिए । उनले अन्तर्राष्ट्रिय व्यापारिक विवाद, असम र नागाल्याण्डबीचको विवादलगायतमा काम गरेका थिए ।