एजेन्सी, ५ चैत्र २०७५ । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ ।
कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव त छोड्ने होइन, विश्लेषकहरू झस्किएका छन् ।
गत बर्षको सोही समयमा जापानको निर्यात दर ६.७ प्रतिशत अर्थात् ६.३८ ट्रिलियन यन रहेकोमा यस बर्ष यसबाट १.२ प्रतिशतको कमी आएको हो । त्यस्तै आयातमा पनि निकै कमी आएको छ अर्थात् जापानको आयातमा पनि यस बर्ष ६.७ प्रतिशतले कमी आई ६.०५ ट्रिलियन यन कायम भएको छ ।
प्रविधि क्षेत्रको सामानको मागमा आएको ह्रास र समग्र सामानको आयात तथा निर्यातमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानलाई तत्काल सोच्न बाध्य बनाएको छ, मिजुहो रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री आसुको साकामोतोले एएफपीसँगको कुराकानीमा बताए ।
साकामोतोले भने, ‘आयातमा देखिएको कमजोर तथ्याङ्कले जापानी बजारमा यहाँका कम्पनीद्वारा गर्दै आएको उत्पादनमा आएको गिरावटलाई प्रतिबिम्बित गरेको र यसले जापानी अर्थतन्त्रमा पार्नसक्ने प्रभावप्रति चासो बढेको छ ।’
विश्लेषकहरूले जापानी अर्थतन्त्रको समस्या आउनसक्ने आधारलाई मध्यनजर गर्दैै निर्यात तथा कर्पोरेट लगानीलाई नजिकमा रहेर नियालीरहेका छन्, उनले बताए । यद्यपि उक्त समयमा जापानको चीन निर्यात हुने सामानमा ५.५ प्रतिशतले वृद्धि आएको छ । आयातमा १५.८ प्रतिशतले कमी आएको छ । यसबाट अमेरिका–चीन व्यापार विवादको लाभ चीनसँगको कारोबारका हिसाबले जापानले लिएको देखिन्छ । जापानमा यस बर्ष चीनबाट हुने कपडा, धातुजन्य उत्पादन र श्रव्यदृष्य सामग्रीको आयातमा कमी आएको देखिएको छ ।
राजनीतिकरूपमा अमेरिकासँग अत्यधिक संवेदनशील रहने जापानको अर्थबजारमा अघिल्लो बर्षको तुलनामा यो बर्ष ०.९ प्रतिशतले कमी आउँदा छ खर्ब २४ अर्ब ९० करोड जापानी यनको कारोबार भएको थियो ।
त्यस्तै यूरोपेली यूनियनसँगको कारोबारमा ५८ अर्ब २ करोड यनको लाभ भएको देखिएको छ ।
फेब्रुअरीमा जापानको जम्मा व्यापार नाफा तीन खर्ब ३९ अर्ब जापानी यन कायम हुन आएको तथ्याङ्क छ ।