एजेन्सी, १ चैत्र २०७५ । सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् ।
मारिएका ती व्यक्तिमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन लाख ७० हजारको मृत्यु भएको अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।
बेलायतसँग आबद्ध मानवअधिकार समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार युद्धका क्रममा २१ हजार बालबालिका र १३ हजार महिला मारिएका छन् ।
सिरियामा सन् २०११ को १५ मार्चबाट सिरियाली सरकारको विरोध गर्दै दक्षिण सहर दाराबाट शुरु भएका प्रदर्शन देशभरि फैलिएको र आठ वर्षसम्ममा लाखौँ मानिसको मृत्यु भएको र सिरियाको जनसंख्याको झन्डै आधा भाग आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेका राष्ट्रसंघको तथ्यांक छ ।
यस आन्दोलनका कारण लाखौँको संख्यामा नागरिक तथा सैन्य लडाकुहरू घाइते भएका छन् ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।