काठमाडौं, फागुन १६
हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलीका लागि तय भएको समय पर सरेको छ । त्रिबि शिक्षण अस्पतालमा पोष्ट मार्टमपछि आज ३ बजेका लागिटुडिखेलमा तय गरिएको श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ बजेसम्म स्थगित भएको हो ।
मन्त्री अधिकारीसहित सवैको शव त्रिबि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ । मृतक सवैको डिएनएसमेत परीक्षण गर्नुपर्ने भएको कारण आज श्रद्धाञ्जलीका लागि शल ल्याउन सम्भव नभएपछि भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ ।
ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपाका केन्द्रीय कमिटी सदस्य अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको अहिले पोष्टमार्टम भइरहेको छ ।
सवै प्रक्रिया सकेर भोलि बिहान ८ बजेदेखि टुडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ ।