काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिनुभएकोे छ । भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवाला निकायहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा बैठक आयोजना गरेको थियो । सो बैठकमा नेपाल–भारत छलफलमा देशको हितका पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यसअनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस बिषयलाई गम्भीरताका साथ उठाउनु पर्ने बताउनु भयो ।
“हाम्रो पहिलो प्राथमिकता महाकाली सन्धीको कार्यान्वयन हो । सन्धीअनुसार नेपालले १० क्यूसेक पानी पाउनु पर्दछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो “सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिती अब हुनुहुँदैन ।”
२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घनमिटर प्रतिसकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यान्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
बैठकमा उर्जा मन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।