गोरखा, २७ माघ २०७५ ।पालुङ्टारमा गण्डकी प्रदेशस्तरीय मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।
गोरखाको पालुङटार नगरपालिकाले पहिलो पटक मेयरकप फुटबल प्रतियोगिता हुन लागेको हो । लिगलिग पालुङटार मेयर कप नाम दिइएको फुटबल प्रतियोगिता पालुङटार ५ को हवाइमैदानमा आउँदो फागुन २६ गतेदेखि चैत ६ गतेसम्मका लागि आयोजना गर्न लागिएको मेयर दीपकबाबु कँडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा गण्डकी प्रदेशभित्रका नगरपालिकाहरु बीचको फुटवल प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरी मेयर कँडेलले जानकारी दिनुभएको थियो । प्रतियोगितामा गण्डकी प्रदेशभित्रका २६ नगरपालिका सहित गोरखाका ९ गाउँपालिकाको पनि सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको बिजेता नगरपालिकालाई दुईलाख ३४ हजार ५ सय ६७ रुपैया पुरस्कार सहित रनिङ शिल्ड प्रदान गर्ने मूल आयोजक समितिका सदस्य सचिव किरण गिरीले बताउनु भयो । त्यस्तै दोस्रो हुने समूहले एकलाख २३ हजार चारसय ५६ रुपैया पुरस्कार पाउनेछ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई ५४ हजार तीनसय २१ रुपैयाका दरले पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार ३ सय ४५ रुपैया पुरस्कार दिइने सदस्य सचीव गिरीको भनाई छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई नौ हजार आठसय ७६ रुपैयाका दरले पुरस्कृत गर्ने उनको भनाई छ । १० दिनसम्म चल्ने नकआउट प्रतियोगिताका म्यान अफ द म्याचले १६ हजार रुपैया पुरस्कार पाउनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न २६ लाख ४४ हजार ३ सय ९० रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । कम्तिमा १५ नगरपालिका सहभागी भएमा टिम दर्ता शुल्कबाट १० हजार रुपैयाका दरले एक लाख ५० हजार र प्रायोजकबाट १५ लाख रुपैया संकलन गर्ने आयोजकको लक्ष्य छ । बाँकी रकम नगरपालिकाले ब्यहोर्ने बारे छलफल भैरहेको सदस्य सचीव गिरीले जानकारी दिए ।
मेयरकपका लागि नगरप्रमुख कँडेलको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक कमिटि सहित अन्य १७ वटा उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पालुङटारलाई खेल पर्यटनको माध्यमबाट प्रवद्र्धन गर्न हरेक वर्ष मेयर कप आयोजना गर्ने पालुङटार नगरपालिकाको लक्ष्य छ ।
लिगलिगे दौडेले देशव्यापी चर्चा कमाएको पालुङटारमा मेयरकप फुटबलको माध्यमबाट पनि प्रसिद्धि कमाउने योजना रहेको उहाँले बताउनु भयो ।