धरान, २५ माघ २०७५ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफैँ अक्सिजन उत्पादन सुरु गरेको छ । आफ्नो लागि आवश्यकताभन्दा दोब्बर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो ।
वातावरणमा भएको हावालाई मेसिनले लिएर अक्सिजन उत्पादन गर्न थालिएको हो । अक्सिजनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्दैन । मेसिन खरिदमा एकमुष्ठ तीन करोडभन्दा बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ । प्लान्टमा खटिने तीनजना प्राविधिक र बिजुलीमा मात्र खर्च हुन्छ ।
दुई वर्षअघि तत्कालीन उपकुलपति प्राडा बिपी दासको पालामा काठमाडौंको डाग्नोकेप प्रालिले ठेक्का पाएर नयाँ दिल्लीस्थित युनिसी प्रालिबाट प्लान्ट ल्याइएको थियो । ठेकेदार कम्पनीले मेसिन जडान नगरिदिँदा त्यत्तिकै थन्किएर बसेको थियो ।
हाल नयाँ पदाधिकारीले उक्त मेसिन प्रतिष्ठानकै खर्चमा जडान गरेका हुन् । प्लान्ट जडान गरेपछि प्रतिष्ठानले ठेकेदार कम्पनीसँग क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । यसअघि प्रतिष्ठानमा दैनिक दुई सय ५० लिटर उत्पादनको क्षमता भएको अक्सिजन प्लान्ट रहेको थियो । ६ महिनाअघि बिग्रिएर प्लान्ट थन्किएको छ । विगत लामो समयदेखि अन्यत्रबाट अक्सिजन खरिद गर्दा दैनिक ७० लाख खर्च हुँदै आएको थियो ।
प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार र अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बिहीबार प्लान्टको उद्घाटन गर्नुभयो । उपकुलपति रौनियारका अनुसार प्रतिष्ठान हाताभित्र रहेको अक्सिजन प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर उत्पादन हुन्छ । एक घन्टामा १० वटा सिलिन्डर भर्न सकिने बुस्टर क्षमता छ ।
दिनमा ६० वटा सिलिन्डर भर्न सकिनेछ । प्रत्येक बेडमा पाइपलाइन विस्तार गरी उक्त लाइनबाट दैनिक पाँच सय लिटर अक्सिजन सप्लाई भइरहेको प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर प्रदीपराज साहले जानकारी दिनुभयो ।
हाल प्रतिष्ठानलाई आठ सय लिटर प्रतिमिनेट अक्सिजनको आवश्यकता पर्छ । तर, प्रतिष्ठानमा हाल १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन हुने भएको छ । प्रतिष्ठानका उपकुलपति डा रौनियारले बढी भएको अक्सिजन प्रदेश १ भरिका अस्पताललाई बिक्री गर्ने तयारी गरेको बताउनु भयो ।