काठमाडौं, २३ माघ २०७५ । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्याकाण्डको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा सरकार गम्भीर रहेको उनको जिकिर छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले गरेको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बादलले अनुसन्धानमा लापरवाही गरेका प्रहरीलाई कारवाही गरिसकिएको बताए ।

अनुसन्धानलाई तीव्र गतिमा अगाडि बढाइरहेको उनले बताए । त्यसअघि डा। डिला संग्रौलाले निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरी मुद्दा किन चलाइएको छैन ? भनेर प्रश्न गरेकी थिइन् ।

मन्त्रीको जवाफप्रति चित्त नबुझेपछि प्रतिपश्न गर्दै सांसद संग्रौलाले भनिन्, निर्मला पन्तका हत्यारा बालुवाटार या सिंहदरवारमा कहाँ छन् ? जवाफ दिनुपर्‍यो ।

जवाफमा गृहमन्त्री बादलले अपराधी जहाँ भए पनि कानूनको कठघरामा आउने बताए ।

‘जहाँसम्म अपराधीहरू बालुवाटार या सिंहदरबार कहाँ छन् भन्ने प्रश्न छ, अपराधी जहाँ भए पनि कानूनको कठघरामा आउनेछन्,’ गृहमन्त्री थापाले भने ।

महिलामाथि भएका हिंसाका घटनामा ९६ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याउन सफल भएको उनको जिकिर छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्