काठमाडौं, माघ २१
राष्ट्रिय खेलकुद परिषद्ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रातो कार्पेटमा स्वागत गरेको छ । पहिलो पटक एकदिवसीय र टि–ट्वान्टी क्रिकेट श्रृखला जितेर नेपाल आईपुगेका टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरेको हो ।
विमानस्थलमा टोलीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारीले स्वागत गर्नुभएको छ । घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० शृङ्खला समान २–१ ले जितेको थियो । दुवै शृङ्खलाको सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई शृङ्खला आफ्नो पक्षमा पारेको थियो ।
नेपाली टोलीका लागि दुवै शृङ्खला ऐतिहासिक शृङ्खलासमेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो । उक्त प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमानसमेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने ।
टी–२० शृङ्खला खेल्नुअघि नेपालले यूएइसँग तीन म्याचको एकदिवसीय शृङ्खला खेलेको थियो । दुबै शृङ्खलामा नेपालको प्रदर्शनमा एउटा समानता रह्यो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलामा २–१ को कब्जा ।