- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन स्थानीय तहका कर्मचारीसहित सातबिरुद्ध भ्रष्टाचार मुद्दा

January 23, 2019
1236
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, माघ ९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोदन गाउँपालिकाको कार्यालयमा प्राविधिक शाखामा कार्यरत दुई प्राविधिक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

इञ्जिनीयर कपिल अर्याल र सबइञ्जिनीयर लक्ष्मण ढुङ्गानाले एक सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिने भन्दै ८० हजार रुपैया घुस लिएको आयोगले आरोप लगाएको छ । उनीहरुलाई घुस लिँदालिँदै पक्राउ गरिएको आयोगले जनाएको छ ।

उनीहरुलाई बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै हेटौँडा उपमहानगरपालिका–४ का अब्दुल्ला देवान र बाँके कोहलपुरका नवराज थापाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले आफ्नो पशुचौपायाको व्यवसायको काम सहज गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरीलाई ५० हजार रुपैया घुस दिने प्रयास गरेका थिए ।

प्रहरीले उनीहरुलाई घुस रकमसहित पक्राउ गरी आयोगलाई बुझाएको थियो । उनीहरुलाई पनि बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले आजै जाजरकोटको अम्राइपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नैनीराम जैसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आव २०६६÷६७ देखि आव २०६९÷७० सम्मको वनको आम्दानी रकम रु सात लाख बिनाप्रक्रिया चेक काटी अपचलन गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

यस्तै बोटबिरुवा खरीद र वृक्षारोपणको पारिश्रमिक तथा भुक्तानी समेतका नक्कली बिल भरपाई बनाएको आरोप लागेको थियो । आयोगले उक्त आरोपको अध्ययन गर्दा रु ८७ हजारको बिल नक्कली रहेको पाइएको थियो । आयोगले रु ८७ हजार बराबरको बिगोबमोजिम जरिवाना गरी कैद सजायको समेत माग गरेको छ ।

आयोगले आजै सप्तरीको साबिक त्रिलोक गाविस–४ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवलगायत चारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माणको रकम अनियमितता गरेको आरोप आयोगले लगाएको छ ।

आयोगले तत्कालीन प्रधानाध्यापक चक्रधरप्रसाद देव र तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादवविरुद्ध समान रु दुई लाख, प्रधानाध्यापक तेजनारायण यादव रु पाँच लाख आठ हजार ८४० र शिक्षक चन्द्रनारायण यादवले रु ५१ हजार २०० बराबरको भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

उनीहरु सबैलाई बिगो असुल गरी कैद सजायको माग गर्दै आजै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दङ्गालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -