काठमाडौं, २०७५ साल पौष २७ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय, अन्तर्राष्ट्रिय उत्तरदायित्व र विश्व शान्तिको पक्षमा नेपाल रहेको बताउनुभएको छ ।
२९७औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सांस्कृतिक संस्थान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक प्रवचनमा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।
नेपालको राष्ट्रियता सङ्कीर्ण राष्ट्रवाद नभएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “शान्ति सर्वोत्तम बाटो हो, हामी शान्तिको पक्षमा छौँ ।” उपनिवेशको अभियान चलेको बेला विश्वका १९३ राष्ट्रमध्ये १९ मुलुक मात्र स्वतन्त्र रहेको प्रसङ्ग अगाडि सार्दै उहाँले भन्नुभयो, “त्यो अवस्थामा पनि नेपाल स्वाधीन राष्ट्रको रूपमा उभियो, नेपालको राष्ट्रियता सधैं स्वतन्त्र र स्वाधीन रह्यो ।”
पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माणको अगुवाई गर्ने नायकका रूपमा बुझ्नुपर्ने भन्दै उहाँको ठूलो योगदान एकीकरण भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपाल राष्ट्रको रूपमा उदाउन नसक्ने ऐतिहासिक तथ्य स्मरण गर्दै भन्नुभयो, “बाइसे चौबीसे राज्य पग्लिएर कता जान्थ्यो, स्वाधीन राष्ट्रको रुपमा उभिने थिएन ।” उपनिवेशको अभियान चलिरहेको र विश्वले त्यसलाई रोक्न नसकेको अवस्थामा पृथ्वीनारायण शाहले अत्यन्त समयानुकूल ढङ्गले राष्ट्रको एकीकरण गरेको उहाँको भनाइ थियो ।
नेपालको सबै छिमेकीसँग समान सम्बन्ध रहने चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतैतिर नझुकेको र नकोल्टिएको अवस्थामा हामीले व्यवहार गरिरहेका छौँ, छिमेकीका बीचमा कार्ड खेल्नुहुँदैन ।”
पहिले देशबीचको सम्बन्धमा सानो र ठूलो भन्ने खालको व्यवहार हुँदै आएको प्रसङ्ग उठाउँदै प्रधानमन्त्रीले अब त्यो अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सार्वभौम समानताका आधारमा हामी व्यवहार गर्छौं ।”
उहाँले न्यायोचित कुरामा आफू अडिएर राष्ट्रियतालाई तलमाथि पर्न नदिने स्पष्ट पार्दै यसबाट मात्र सम्बन्ध दिगो र मैत्रीपूर्ण बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक एकतालाई पटक पटक विभाजित गर्न र भड्काउन धेरै प्रयास गरिएको भन्दै प्रधानमन्त्री थप्नुभयो, “विगतमा भड्काउने सम्भावना थिए अब कुनै सामाजिक आधार र कारण छैनन्, हामी सबै स्वतन्त्र छौं, हाम्रो विशेषता स्वाधीन र एकतावद्ध छ, विविधतामा एकता नै हाम्रो विशेषता हो, यसैले हामीलाई सबल बनाएको छ ।”
प्रधानमन्त्री ओलीले आजको युग चेतना, परिवर्तन र गणतन्त्रको युग भएकोे स्पष्ट पार्दै भन्नुभयो, “राजतन्त्र पुनःस्थापनाको सपना कसैले नदेखे हुन्छ ।”
कतिले आफूलाई आँकडामा खेलेको आरोप लगाएको चर्चा गर्दै उहाँले भन्नुभयो, “म आँकडामा खेल्ने होइन, काम गरेर आँकडा परिवर्तन गर्ने हो, मलाई आँकडामा खेल्ने कुनै शोख छैन ।” उहाँले सन् २०२० को भ्रमण वर्षलाई केन्द्रित गरी हवाई उडानका लागि धेरै मुलुकसँग सम्झौता भइरहेको र हुने क्रममा रहेको जानकारी दिँदै युरोपको प्रतिबन्ध पनि छिट्टै खुलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रज्ञा भवन परिसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र कविशिरोमणि लेखनाथ पौडेलेको प्रतिमा अनावरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पृथ्वीनारायण शाहलाई उनको भूमिकाका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहको दिव्योपदेश अहिले पनि सान्दर्भिक भएको चर्चा गर्दै भन्नुभयो, “पृथ्वीनारायण शाहले राष्ट्रलाई बलियो बनाउनुपर्छ भन्ने भाव व्यक्त गरेको पाइन्छ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्वमा धेरै उथलपुथल भएको समयमा नेपालको एकीकरण भएका बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पृथ्वीनारायण शाहप्रतिको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनुभयो ।