मनकामना, २२ पुस
गोरखाको मनकामनाबाट शहिद लखन गाउँपालिकाको केन्द्र घैरुङ्ग हुदै जिल्ला सदरमुकाम गोरखासम्म आज देखि नियमित रुपमा सिधै सार्वजनिक बस सञ्चालन सुरु भएको छ । बस सेवाको आज बिहान शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले रिबन काटेर उद्घाटन गरी नियमित बस सेवा सञ्चालन सुरु भएको घोषणा गर्नुभयो । गाउँपालिकासँगको समन्वयमा गोरखा यातायात प्रा.लि.ले आजदेखि मनकामनाबाट बिहान ८ः३० बजे घैरुङ्ग हुदै गोरखाको लागि र गोरखा सदरमुकाम देखि दिउँसो १ः३० बजे घैरुङ्ग हुदै मनकामनासम्मको लागि नियमित रुपमा सिधा बस सेवा सञ्चालन सुरु गरिएको हो ।
पछिल्लो संघिय संरचना अनुसार साविकको मनकामना, घैरुङ्ग, बक्राङ्ग, ताक्लुङ्ग, बुङकोट र नामजुङ्ग गरी ६ वटा गाविसहरु मिलाएर शहिद लखन गाउँपालिका स्थापना गरेपछि घैरुङ्ग केन्द्र कायम गरिएको थियो । गाउँपालिकाको केन्द्र घैरुङ्ग कायम गरिएपछि शहिद लखन गाउँपालिका वडा नं. १,२,३,४ र ५ का अधिकांश वडावासीलाई गाउँपालिका केन्द्र पुग्न महङ्गो भाडा तिरेर गाडी रिजर्भ गरेर वा मोटरसाइकलमा जानुपार्ने बाध्यता थियो । कि त अघिल्लो दिन नै गएर बास बस्नुपर्ने बाध्यता थियो जसले गर्दा वडाबासीले समय र आर्थिक रुपले पनि नोक्सानी व्यहोर्नु पर्ने अवस्था सृजना भएको मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बताउनुभयो । साथै बस सेवा सञ्चालन सुरु भएपछि नागरीकलाई धेरै सहज हुने अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो ।
यस्तै नियमित बस सेवा सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै अब स्थानीय सरकारले सुरक्षित यात्राका लागि बस सेवा सञ्चालन हुने राजमार्गको कालोपत्रे गर्नमा जोड दिनुपर्ने नया शक्ति पार्टीका प्रतिनिधी दिनेश जोशीले बताउनुभयो ।
यसगरी बस सेवा नियमित सञ्चालन भएपछि स्थानीय वडावासी मात्र नभै मनकामना माईको दर्शनमा आउने दर्शनार्थी एवं पर्यटकहरुले शहिद लखन गाउँपालिका भित्रका ग्रामिण भेगहरुको अवलोकन गर्दै गोरखकाली दर्शनका लागि सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगरले बताउनुभयो ।
कार्यक्रममा गोरखा यातायात प्रालिका प्रतिनिधी एवं शहिद लखन गाउँपालिका ५ नं. वडाका वडाध्यक्ष याम बहादुर रानाले भाडादरको जानकारी गर्नुभएको थियो । जानकारी गराईए अनुसार मनकामना देखि तोरेन २०, जुम्ली चौतारा ४०, डाडाँगाउँ ५०, माथिल्लो गाउँ ६०, तिनमाने ७५, राना गाउँ ८५, घैरुङ्ग १००, खगी ११०, नामजुङ १२०, देउराली १५०, गैरी चौतारा १७०, खाप्दी भञ्ज्याङ्ग १७५, मकैपुर १८०, समि चौतारा १८५, वनकाली १९०, ढुङगार्ड २०० र गोरखासम्म पुग्दा २२० प्रतिव्यक्ति भाडा लाग्नेछ ।
कार्यक्रमको अन्त्यमा सम्बोन्धन गर्दै बस सेवा सञ्चालन गरिएको राजमार्ग स्तरोन्नति गरी कालोपत्रे गर्नको लागि संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा पहल भैरेहेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले बताउनुभयो । साथै नागरीकको सहजताको लागि त्रिवेणीधाम र ठेउवाटारमा मोटरेबल पुल निर्माणको लागि पहल समेत भैरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।








































