काठमाडौँ, १७ पौष २०७५ । ‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।

बिहान माइतीघर मण्डलामा भेला भएका युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।

प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि बृद्धहरु र कलाकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञसम्मकाे उपस्थित थियो । प्रभातफेरीमा सहभागिहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो ।

टोपी दिवसका अवसरमा अहिले सम्मकै ठूलो नेपाली टोपी समेत प्रदर्शन गरिएकाे थियाे । कार्यक्रममा उपस्थित भएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना गर्नु सबैको दायित्व भएको बताए । समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरे ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अाफूहरुले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएकाे संयाेजक श्रेष्ठले बताए ।

‘विश्वमा हरेक मुलुकको आ-आफ्नो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौं, ‘उनले भने, ‘त्यसका लागि हामीले विगत ५ वर्षदेखि विभिन्न अभियानहरु संचालन गर्दै आईरहेका छाैँ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती सबै टोपीहरुको संरक्षण र प्रवद्र्धनमा समेत ध्यान दिन पनि उनले सरकारसँग माग गरे ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्