काठमाडौं, १२ पौष २०७५ । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल खेल्नु अगावै मनाङ मस्र्याङदी क्लबले उपाधि जितेको छ ।
बिहीबारको खेलमा मनाङ मस्र्याङ्दी क्लबले संकटा क्लबमाथि शानदार जित दर्ता गर्दै उपाधि जितेको हो । लिगमा मनाङले आफ्नो अपराजित यात्रालाई कायम राख्न समेत सफल भएको छ ।
पहिलो हाफमा १–० गोलले अग्रता लिएको मनाङले दोस्रो हाफमा थप २ गोल गरेको हो। खेलको अन्तिममा संकटाले सान्तवना गोल फर्कायो।
बिहीबारको जितसँगै मनाङको ३३ अंक पुगेको छ। मनाङको निकट्तम प्रतिद्वन्द्वी संकटाको भने २५ अंकमात्र छ। अब जारी सिजनको लिगमा यी दुबै टोलीले दुई–दुई खेलमात्र खेल्न बाँकी छ। मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।