काठमाडौं, २ पौष २०७५ । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराई र पम्फा भुसालले संसद् सचिवालयबाट घरभाडाबापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने बताएका छन् ।
ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराई र ललितपुर–३ बाट विजयी भएकी भुसालले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनामा लिएको घरभाडाबापतको रकम ९० हजार फिर्ता लिन संसद सचिवालयलाई आग्रह गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गरी भट्टराईले भनेका छन् ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महिनाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।’
सांसद भट्टराईले संसद सचिवालयले फारम भराउँदा काठमाडौंमा घर भएको उल्लेख गरे पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन् । ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेख व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुख व्यक्त गर्दछु’ उनले भनेका छन् ।
यता, भुसालले पनि संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको हुन सक्ने बताइन् । उनले विज्ञप्ती जारी गर्दै भनेकि छन्,‘संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी पनि भएन । जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।’
संसद् सचिवालयको अभिलेख राख्ने सन्दर्भमा भएको कमजोरीले होस् या आफ्नै असवाधानीका कारण भएको कमजोरी उठाईदिएकोमा मिडियाकर्मीलाई धन्यवाद पनि दिएकी छन् । संसद् सचिवालयको सूचि अनुसार काठमाडौंमै घर भएका सांसदले पनि घरभाडा वापत रकम लिदै आएको देखिएको छ ।