काठमाडौं, २२ मङ्सिर २०७५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि आतङ्कवाद नै सबैभन्दा ठूलो खतरा रहेको बताउनु भएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा दिनुभएको सन्देशमा भारतीय प्रधानमन्त्री मोदीले आतङ्कवादका सबै किसिमका स्वरुपलाई भेदभावरहित ढङ्गले निमिट्यान्न पार्नुपर्नेमा समेत जोड दिनुभएको छ ।
वडापत्र दिवसका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा तीन दशक लामो यात्रामा सार्कले निरन्तर प्रगति गर्दै आएको भए पनि आशातित लक्ष्य हासिल गर्न नसकेको यथार्थ औँल्याउँदै क्षेत्रीय सहयोगको निम्ति शान्ति–सुरक्षा अपरिहार्य भएको उल्लेख गर्नुभएको छ ।
पाकिस्तानका राष्ट्रपति डा आरिफ आल्भीले विवादरहित दक्षिण आफ्नो परिकल्पना भएको बताउँदै सदस्य राष्ट्रबाट गरिबी, अशिक्षा, रोग, कुपोषण र वेरोजगारीविरुद्ध सामूहिक रुपमा मुकाबिला भइरहेको स्मरण गर्नुभएको छ ।
गरिबी निवारण, सामाजिक–आर्थिक समानताको सृजना, महिला सशक्तीकरण तथा प्रगतिशील, शान्त, समृद्ध दक्षिण एशिया निर्माण गर्ने सङ्गठन भएको बताउँदै उहाँले वडापत्र दिवसले तिनै लक्ष्य पूरा गर्ने प्रतिबद्धतालाई नवीकृत तुल्याउने सन्देशमा उल्लेख गर्नुभएको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले दक्षिण एशियामा शान्ति र समृद्धि प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको सार्कले दक्षिण एशियालाई एकीकृत गर्ने प्रयास गरेको बताउँदै उक्त सङ्गठनको संस्थापकका नाताले श्रीलङ्काले सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गरेको सन्देशमा उल्लेख गर्नुभएको छ ।
यसै अवसरमा भुटानका प्रधानमन्त्री लोते छिरिङले दिनुभएको शुभकामना सन्देशमा सार्कले आर्थिक, सामाजिक एवं सांस्कृतिक फाँटमा उल्लेखनीय प्रगति गरेको बताउँदै दक्षिण एशियाका जनताको कल्याण तथा क्षेत्रीय सहयोग प्रवद्र्धनका निम्ति सङ्गठन स्थापना गरेका सार्कका संस्थापकहरुप्रति आभार प्रकट गर्नुभएको छ ।
बङ्गलादेशका परराष्ट्रमन्त्री अबुल हसन महमुद अलीले दिनुभएको शुभकामना सन्देशमा क्षेत्रीय सहयोगका धेरै क्षेत्रमा सार्कले सहकार्यका अवसर उपलब्ध गराएको बताउँदै क्षेत्रीय एकताको निम्ति सबै सदस्य मुलुक एक हुनुपर्ने जोड दिनुभएको छ ।
यसैगरी, मालद्विभ्सका विदेशमन्त्री अब्दुल्लाह साइले सार्कका सिद्धान्त, आदर्श, सहयोग एवं मैत्री, विविधतामा एकताप्रति आफ्नो देशको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै आपसी मतभिन्नता त्यागेर सार्क क्षेत्र र यहाँका जनताको समृद्धिका निम्ति साझेदारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अफगानिस्तानका उपविदेशमन्त्री अदेला राजले सार्कलाई क्षेत्रीय सहयोगको सुदृढ माध्यम बनाउन सदस्य मुलुकसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी सार्कका महासचिव अमजद हुसेन बी सियालले सबै सदस्य राष्ट्रप्रति शुभकामना व्यक्त गर्दै बडापत्रका लक्ष्य र उद्देश्य हासिल गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।