काठमाडौँ, मङ्सिर ८ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो ।

दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । शुक्रबार विहान खुला गरिएसँगै १५ मिनेट जति काम भएपछि वेवसाइट नै ह्याङ भई काम हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘विहान १५ मिनेट जति काम भयो त्यसपछि ओभरफ्लो भएर दिनभरि काम भएन, क्षमता थप गर्ने काम भएको छ, प्राविधिकहरुले काम गरिरहनुभएको छ भोलि सुधार हुन्छ ।’

विभागका अनुसार अनलाइन आवेदन फारम भर्नका लागि यस्तो समस्या यसअघि भएको थिएन् । बीचमा आवेदन वन्द गरिएका हुँदा अहिले एकै पटक सबैले फारम भरेकाले ओभरफ्लो भएको विभागले जनाएको छ ।
दैनिक लाइसेन्सको माग बढ्नुका साथै लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तीर्ण भई पुनः ट्रायल (रिट्रायल) दिनेहरूको सङ्ख्या बढेपछि बन्द गरिएको थियो । दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि भएकाले यसबीचमा रिट्रायलको काम सकिएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।

विभागका अनुसार पहिलो पटक ट्रायल दिनेहरूमध्ये जम्मा ४० प्रतिशत मात्र उत्तीर्ण हुन्छन् । बाँकी ६० प्रतिशतले तीन पटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले सङ्ख्या थपिदै आएको थियो । लाइसेन्स नवीकरणको काम पनि सकिएको विभागले जनाएको छ । दैनिक तीन हजार लाइसेन्स नवीकरण गरिएको उपाध्यायको भनाई छ ।

छाप्न बाँकी रहेको छ लाख लाइसेन्सको काम पनि सक्ने विभागको योजना थियो । तर छपाई सुरु भएको ४५ दिनमा छ लाख लाइसेन्स छाप्ने सम्झौता गरेको मालिका इन कर्पोरेटले बल्ल ७० हजारप्रति छापेको छ । यही असोजको पहिलो हप्तादेखि छाप्न सुरु गरेको कर्पोरेटले ४५ दिन पुगिसक्दा पनि छपाइको काम सकेको छैन । नेपालमा दैनिक चार हजार लाइसेन्सको माग रहेको विभागले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्