काठमाडौं, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिष्पर्धा गर्दैछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।
प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जीत नै नेपालको एक मात्रै जीत रह्यो । माल्दिभ्सविरुद्ध ४–० को सानदार जीत निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो ।
पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जीत निकाल्दै सेमिफाइनल पुगेको थियो । उक्त प्रतियोगिता अन्तर्गत आजै अपराह्न हुने अन्तिम चरणको खेलमा पाकिस्तान र बङ्गलादेश प्रतिष्पर्धा गर्नेछन् ।