काठमाण्डौ, १३ कात्तिक । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिएका छन् ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजि रोटी नखोस्न सरकारलाई चेतावनी दिए ।
राउतले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए । ३२ हजार कर्मचारीको रोजि रोटी खोसिएको प्रति गुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए ।
“छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौँ । हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ ।” राउतले भने ।
आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौता अनुसार व्यवस्थापन गर्नु पर्ने बताए ।
सर्वोच्चले यस्ता कर्मचारी नराख्न आदेश दिएपनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलत भएको तर्क गरे । आवश्यकता पर्यो भनेर भर्ना गर्ने अनि अहिले किन हटाउन खोजियो ?पोख्रेलले प्रश्न गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा कर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले यस्तो समस्या आएको तर्क गरे ।
त्यसैगरी सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले कर्मचारीतन्त्रभित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधान गर्नुपर्ने बताए ।
“अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीको सन्दर्भमा जे जस्ता नीति छ, जे सम्झौता अनुसार भर्ना गरिएको हो, सरकारले सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ ।” सुनुवारले भने । सबैखाले कर्मचारीको उचित कदर गर्नुपर्ने उनको भनाई थियो ।
त्यसैगरि राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले कर्मचारी तन्त्रमा राजनीतिक प्रभाव भएकाले यस्तो समस्या आएको बताए । उनले ट्रेड युनियनहरु नै खारेज गर्नु पर्नेमा जोड दिएका छन् ।