- ADVERTISEMENT -

कसरी मनाइरहेका छन् युवा नेताले दसैं ?

October 17, 2018
1811
Shares
- ADVERTISEMENT -

सधैंजसो व्यस्त देखिने युवा नेताहरु दसैंलाई विशेष बनाउने तयारीमा छन्। सामान्यतः आम नगरिकका जसरी दसैं मनाउने तयारीमा रहेका युवा नेताहरुले दसैंको समय अध्ययनशील बनाउने बताएका छन्। केही युवा नेता दसैं नजिकिंदै गर्दा आफ्नो विदेश भ्रमण सकेर स्वदेश फर्किसकेका छन् भने कतिपय युवा नेताले विदेशमै यसपालिको दसैं मनाउँदै छन्।

कल्याण गुरुङ

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष कल्याण गुरुङ यसपालिको दसैं अमेरिकामै मनाउँदै छन्। र, दसैंको टीका पनि गुरुङको अमेरिकामै छ। उनले भदौको बिहेमा सहभागी हुन असोज १८ गते नै अमेरिका प्रस्थान गरेका हुन्। गुरुङले दसैंको समयलाई सदुपयोग गर्न केही पुस्तक पनि आफूसँगै लिएर गएका छन्।

मदन पुरस्कार प्राप्त निलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ लगायत दर्जनौं पुस्तक लिएर गएका छन् गुरुङ। उनले विगतदेखि नै दसैंको समय घुमघाम र रमाइलोका लागि मात्र नभई अध्ययनका लागि पनि सदुपयोग गर्दै आएको बताउँछन् ।

हिमाल शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता हिमाल शर्माले काठमाडौंमै दसैं मनाउँदै छन्। दसैंंको तयारी सामान्य रहेको शर्मा बताउँछन्। नेपाल कम्युनिस्ट पार्टीका तल्लो तहका जनवर्गीय संगठन गठनलगायत काममा पनि शर्मा व्यस्त छन्। त्यसका लागि आधारभूत छलफलमा पनि शर्माको व्यस्तता छ। दसैं सांस्कृतिक पर्व भएकाले पारिवारिक र साथीभाइसँगको भेटघाटमा सामान्यसँग दसैं मनाइरहेको शर्मा बताउँछन्।

कामको व्यस्तताकार कारण शर्मा दसैंको एक दुई दिनअघि मात्रै सुस्ताउन पाउनेछन्। विगतका वर्षमा कहिलेकाहिं दसैंको सेरोफेरोमा उनी घुमेका थिए। तर, त्यो संयोग थियो। दसैंमा घुम्नकै लागि समय निकाल्ने नगरेको शर्मा बताउँछन्।

विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ र बुद्धशान्ति गाउँ समितिले आयोजना गरेको स्वस्थ्य शिविरबाट दसैंको सुरुवात गरे। शर्माले दसैंको सुरुवातमै सबैको सुस्वास्थ्यको कामना गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनबाट गरे। शर्माले शिविरमा सहभागी १५ डाक्टर र करिब ७ लाख बराबरको औषधि लिएर निःशुल्क स्वास्थ्य शिविर चलाएर दसैंलाई विशेष बनाएका छन्।

घटस्थापनाको तेस्रो दिनसम्म शिविरमै व्यस्त शर्माले दसैंको अरु दिन सामान्यसँग नै दसैं मनाइ रहेका छन्। उनले दसैंमा पिङ खेल्दै, साथीभाइ र परिवारसँग रमाइलो गरी दसैं मनाइरहेका छन् । परम्परागत शैली त छँदैछ, त्यसबाहेक सामाजिक कार्यमा संलग्न हुँदै दसैं मनाउँदा राम्रो हुने निष्कर्षसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको शर्माको भनाइ छ। यस्तै, डा. शिवहरि दाहालको अमेरिकामा सार्वजनिक भएको पुस्तक ‘चइना–नेपाल–इन्डिया ट्र्यांगल, द डार्क साइड अफ इन्डो–नेपाल रिलेसन’ पनि पढिरहेको शर्माले बताए ।

योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सांसद योगेश भट्टराई दसैं मनाउन २७ गते नै आफ्नो जन्मथलो ताप्लेजुङ पुगिसकेका छन्। दसैैं मनाउन ताप्लेजुङ पुगेका भट्टराई त्यहाँका स्थानीयसँग भेटघाट गरेर दसैंको शुभकामना आदान–प्रदान गर्दै दसैं मनाइरहेका छन्। गाउँतिर दसैंको अवसरमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुदमा सहभागिता जनाउने तयारी पनि छ भट्टराइको। आमा र आफन्तको हातबाट टीका ग्रहण गर्न पुगेका भट्टराई निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न ठाउँमा पनि पुग्नेछन्।

अध्ययनका लागि भट्टराईले अच्युतकृष्ण खरेलको आत्मकथा पनि सँगै लिएर गएका छन्। आफ्नै गाउँ नेपालका पर्यटकीय गन्तव्यमध्ये उत्कृष्टमा पर्ने हुँदा भट्टराईको अन्य ठाउँमा घुम्न जाने कुनै योजना छैन। भट्टराईले ताप्लेजुङ पाथीभरालगायत ठाउँमा घुम्न आउनका लागि पनि सबैलाई आग्रह गरेका छन् ।

प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेल यो दसैंमा गृहजिल्ला तनहुँमा छन्। गत वर्ष भएको निर्वाचनपछि प्रदीप आफ्नो निर्वाचन क्षेत्रमा जान पाएका थिएनन्। केन्द्रको राजनीति एवं व्यस्तताका कारण उनी गृहजिल्लाको निर्वाचन क्षेत्रमा पुग्न नपाएका हुन्। यस पटकको दसैंमा छेको पारेर प्रदीप आफ्नो क्षेत्रका स्थानीयसँगै भेटघाटमा व्यस्त छन्। निर्वाचनको समयमा उनले सम्पूर्ण क्षेत्रमा भेटघाट गर्न भ्याएका थिएनन् । यो मौकामा पहिले छुटेका ठाउँ गएर दसैंको समयमा सदुपयोग गर्दैछन् प्रदिप।

गतवर्षको दसैंमा उनी निर्वाचनकै तयारीमा जुटेका थिए। प्रदीप झन्डै एक वर्षपछि पनि निर्वाचनको ह्याङओभरमै देखिन्छन्। उनी भन्छन्, ‘अहिलेको दसैंमा आफ्नै क्षेत्र घुम्छु। छोरी सानै भएकोले अन्त कतै घुम्न जाने योजना छैन। सधैं झैं परिवारसँगै दसैं मनाइरहेको छु, सिम्पल एन्ड स्विट।’

नविना लामा

सांसद एवं अनेरास्ववियूकी अध्यक्ष नविना लामाको बिहेपछिको यो पहिलो दसैं हो। नयाँ घर, नयाँ माइती भएका कारण दसैंमा विशेष रमाइलो भइरहेको नविना बताउँछिन्। उनको माइतीमा दसैंंमा सेतो टीका लगाउने चलन छ। तर, घरमा भने सेतो टीका लगाउने चलन छैन। विवाह भएको पहिलो दसैं माइतीमा टीका पुर्‍याउने चलन छैन। तर, नेवार समुदायमा फूलपाती लिएर आफन्तकहाँ जानुपर्ने चलन छ। केही नौलो अनुभव बटुल्ने विश्वास छ नविनालाई।

संगठनभित्रको विवादले यसपालिको दसैं नविनाका लागि तनावमुक्त भने छैन। संगठनभित्र धेरै किचलो भएको नविना स्वीकार गर्छिन्। तर, राजनीतिको आन्तरिक विवादले पारिवारिक जमघट र रमाइलोमा असर नपुगेको नविनाको दाबी छ।

अखिलले प्रहरी संगठनमा घट्दो जनविश्वास, संगठन सुधार, दसैंंमा महँगी नियन्त्रण, गरिबले पनि सहजै दसैंं मनाउनसक्ने वातावरणको निर्माणलगायत विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो। ‘कम्युनिस्ट सरकारले राम्रो काम गर्नुपर्‍यो भन्ने सकारात्मक सोचका साथ गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थियौं। त्यही बहानामा संगठनभित्र अहिले किचलो बढ्दो छ,’ उनले भनिन्।

गाउँघरमा विगतजस्तै सामान्यसँग दसैं मनाउने योजनामा छिन् नविना। ‘घरपरिवारसँगै छु । आफन्त र मान्यजनको हातबाट टीका लगाउने, रमाइलो गर्दै आफन्तहरुकै माझमा दसैं मनाउँछु,’ नविना भन्छिन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -