एजेन्सी । बुधबार राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत साउदी अरेबियामा भएको खेलमा अर्जेन्टिनालाई हराउँदै ब्राजिलले सिल्भरवेयर उपाधि जित्यो ।
नेइमारसहितको टिम ब्राजिलले इन्जुर समयको गोलले मेसीसहितका स्टार खेलाडी बिनाको अर्जेन्टिनालाई १–० ले हराएको हो । यो खेलमा स्टार खेलाडी नेइमारले गोल गर्न सकेनन् ।
तर उनका लागि अन्तर्राष्ट्रिय फुटबलमा यो खेलमा कोशेढुंगा भने बन्यो । नेइमारले यो खेलबाट विश्व फुटबलका महान् खेलाडी पेलेलाई पछि पार्दै अघि लागेका छन् । नेइमार ब्राजिलको टिमबाट पेलेभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।
उनले अहिलेसम्म ९३ खेलमा ब्राजिलको प्रतिनिधित्व गरेका छन् । उनले राष्ट्रिय टिममा प्रतिनित्वको हिसाबमा पेले, रिवेलिनो र काकालाई पछि पारेका हुन् ।
सन् २०१० मा डेब्यु गरेका २६ वर्षका नेइमारले राष्ट्रिय टिमबाट अहिलेसम्म ५९ गोल गरेका छन् र ४० गोलका लागि सहयोग गरेका छन् । तर उनलाई राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेलमा प्रतिनिधित्व गर्ने सर्वकालीन खेलाडी बन्न भने अझै लामो यात्रा बाँकी छ ।
१४२ खेलमा ब्राजिलको जर्सी लगाएका काफु कीर्तिमानी प्रतिनिधित्वकर्ता हुन् । पेले, रिवेलिनो र काकाले ९२ खेलमा ब्राजिलको जर्सी लगाएका छन् । यस्तै डिडा र डुंगाले ९१ खेलमा राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका छन् ।