काठमाडौं, १५ भदौ २०७५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ ।
सम्मेलनको दोस्रो दिन सम्मलेनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो ।
घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । व्यापार, लगानी र उर्जा सहकार्यका विस्तारका विषयमा एक जुट हुनुपर्ने लगायतका १८ बुँदे विषयमा समझदारी जुटाउँदै चौथो बिमस्टेक सम्मेलन सकिएको हो ।
यस्तै, सदस्य राष्ट्रका विदेश सचिवहरुको १९ औं बैठकले तयार पारेको विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्रमा सरकार प्रमुखको उपस्थितिमा सदस्य राष्ट्रका विदेश मन्त्रीले हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ । यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता समेत गरेको छ ।
प्रधानमन्त्री ओलीले बिम्स्टेक क्षेत्रका राष्ट्रहरु हिमालदेखि समुद्रसम्म जोडिएको बताउँदै विकासका लागि आवश्यक सामर्थ्य रहेकाले अब राजनीतिक इच्छा शक्तिको प्रदर्शन गर्ने बेला भएको उनको कथन थियो ।
अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न पाउने छ भने थाइल्याण्डसँगै भुटान म्यानमारसँगसमेत विद्युत खरिद गर्न पाउने छ ।
साथै, सम्मेलनको अन्तिम सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण समेत गरेको छ ।
सम्मेलनका क्रममा हिमालदेखि समुद्रसम्मलाई जोड्ने विशाल मञ्चका रुपमा बिमस्टेकलाई विकास गर्नुपर्नेमा सात राष्ट्रले एक्यबद्धता समेत जनाएका थिए ।