२ भदौ,
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको ८० वर्षको उमेरमा आज निधन भएको छ । अन्नान केही समयदेखि सामान्य बिरामी थिए । उपचारको क्रममा उनको शनिबार निधन भएको हो । अन्नान घानाका हुन् । अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन थिए । उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए । सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गरेका थिए ।
कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको पनि जानकारी दिएको थियो । उनको निधन स्विट्जरल्यान्डको जेनेभामा भएको हो, जहाँ उनी वर्षौंदेखि बस्दै आइरहेका थिए । विश्वमा शान्ति स्थापनार्थ भूमिका खेलेको भन्दै अन्नान सन् २००१ को नोवेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका थिए ।